सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती भएकाे पुष्टि, हिजोमात्रै फर्किएका थिए क्यानडाबाट

काठमाडौं, ९ मङ्सिर। सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ ।

मृत्यु हुनेमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेकाे प्रहरीले जनाएकाे छ ।

उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको हाे ।

प्रहरीका अनुसार उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए । उनीहरू सोही होटलमा शनिबार बेलुकी पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरु बसेकाे प्रहरीले जनाएकाे छ ।

आइतबार बिहान बोलाउँदा नबोलेकाे र ढोका नखुलेपछि हाेटल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । उनीहरूले बरन्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएकाे अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ ।