‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ : स्वास्थ्य मन्त्री पौडेल

चितवन, १२ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरूलाई शय्याका आधारमा नभई सेवाका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ ।

आज चितवनमा आयोजित नेपाली कांग्रेसका अग्रज नेता स्व बलबहादुर श्रेष्ठको १२औँ स्मृति सभामा उहाँले अस्पताललाई शय्याका आधारमा वर्गीकरण गर्दा व्यवस्थित र प्रभावकारी बनाउन नसकिने धारणा राख्नुभयो ।

अस्पताललाई वर्गीकरण गर्दा सेवाका आधारमा गर्नुपर्नेमा जोड दिँदै मन्त्री पौडेलले यसले अस्पतालको सेवा प्रभावकारी र नागरिकमैत्री बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य क्षेत्रभित्र समाजवाद र लोकतन्त्र रहेको भन्दै उहाँले यसलाई अनुभूतिमा परिवर्तन गर्न आजको स्वास्थ्य परिस्थितिलाई बदल्न जरुरी रहेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा केही नभएको होइन, आवश्यकताअनुसार नभएको मात्रै हो । यसलाई सुधार गर्दै जानु जरुरी छ ।” जनताको आधारभूत स्वास्थ्य संवैधानिक अधिकार रहेको बताउँदै संविधानले व्यवस्था गरेको स्वास्थ्यको हकलाई सुनिश्चित गराउन स्रोतको सुनिश्चितता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सीमित साधन, स्रोतभित्र अधिकतम काम गर्नुपर्ने आजको स्थिति रहेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “सीमित स्रोत, साधन र जनशक्तिले धेरै सेवा दिनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्न मन्त्रालय लागिपरेको छ ।”

मन्त्री पौडेलले १४ वर्षमुनिका बालकालिकाको क्यान्सरको उपचार पाँचवटा अस्पतालमा निःशुल्क हुने व्यवस्था गरेको बताउँदै अन्य उपचारमा पनि राज्यलाई दायित्व नबढ्ने गरी व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिनुभयो । जलन उपचारका लागि यस वर्ष नेपालका आठवटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

विसं २००८ मङ्सिर १२ गते हालको इच्छाकामना गाउँपालिका–२ विप्राङमा जन्मिनुभएका कांग्रेसका पुराना नेता श्रेष्ठको १२औँ स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो ।