‘प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुन्छ’

विराटनगर, १६ मङ्सिर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताउनुभएको छ ।

महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीको बिदाइ समारोहलाई आज सम्बोधन गर्दै प्रमुख कोइरालाले प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने बताउनुभयो ।

महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो । “कम्प्युटर इञ्जिनिरिङ, आइटी र विश्वबजारमा के माग भइरहेछ, त्यसअनुसारको शिक्षा दिनसकेमा कोही पनि बेरोजगार बस्नु पर्दैन”, उहाँले भन्नुभयो, “आइटीसम्बन्धी राम्रो ज्ञान भएका व्यक्तिले घरमै बसेर पनि राम्रो कमाइ गर्न सक्नेछ ।” अहिले पनि धेरै युवाले नेपालमै बसेर विदेशको काम गरिरहेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष रु ६४ अर्बभन्दा बढी आइटी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमुख कोइरालाले जनाउँदै भन्नुभयो, “अहिलेको शिक्षण पद्धतिबाट माथि उठ्नुपर्छ ।”

कार्यक्रममा वडा नं २ का अध्यक्ष कुमार पोखरेल, शिक्षालयका प्राचार्य प्ररिवेश पराजुली, महेन्द्र रात्रि माविका प्रधानाध्यापक झङ्क पराजुली, शिक्षक प्रह्लाद भट्ट, अरुणकुमार कर्णलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *