भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

चितवन, ३ माघ । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ ।

सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।

महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी दुई सय १० पुर्‍याइने जनाउँदै उहाँले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताउनुभयो ।

प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले १५ प्रतिशत हाराहारी काम गरेका छाैँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई रु छ करोड ६० लाख अग्रिम भुक्तानी गरिएको छ ।”

प्रदेश सरकारकाे रु १० करोड बजेट विनियोजनबाट रङ्गशालाको काम भइरहकाे छ भने सङ्घीय सरकारले चालु आर्थिक वर्ष विनियोजन गरेको रु २५ करोड भने सहरी विकास मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने जनाइएकाे छ ।

आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा रङ्गशाला निर्माण अगाडि बढाएको हो । रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुई वटा भिआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिनुभयो ।

गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ । रङ्गशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिने छ ।