सरकारले निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता तोक्यो

काठमाडौँ, १५ माघ । सरकारले निजी मेडिकल कलेजमा अध्ययनरत एमडी/एमएस विद्यार्थीहरूलाई मासिक निर्वाह भत्ता दिने निर्णय गरेको छ।

शिक्षामन्त्री विद्या भट्टराई र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले संयुक्त रूपमा गरेको निर्णयअनुसार पहिलो वर्षका विद्यार्थीले २५ हजार, दोस्रो वर्षका विद्यार्थीले ३० हजार र तेस्रो वर्षका विद्यार्थीले ३५ हजार रुपैयाँ मासिक पाउने छन्।

यो व्यवस्था शैक्षिक सत्र २०८१/८२ देखि लागू हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले यस विषयमा निर्णय गर्ने जिम्मेवारी दुवै मन्त्रीलाई दिएको थियो।

साथै, निजी मेडिकल कलेजले निःशुल्क अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई अध्ययनपश्चात् दुई वर्षसम्म सोही संस्थामा काम गर्ने सर्तमा अध्ययन गराउन सक्ने व्यवस्था पनि गरिएको छ। कलेजहरूले नेपाल मेडिकल काउन्सिल र श्रम कानुनअनुसार विद्यार्थीहरूलाई मर्यादित सेवासुविधा दिनुपर्ने प्रावधान पनि राखिएको छ।