झाडीले ढाकेको जग्गा किनेर सुन्तला बगान
म्याग्दी, २४ माघ । कोरोना महामारीको समयमा बन्दाबन्दी भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका व्यवसायी विकास श्रेष्ठले त्यहाँ झाडीले ढाकेको जग्गा किनेर सुन्तला बगान बनाएका छन्।
पोल्ट्री व्यवसाय र घरजग्गाको कारोबार गर्दै आएका श्रेष्ठले सुरुमा दोसल्लेमा जग्गा किनेर घर बनाउने सोचेका थिए। तर, काम गर्दै जाँदा त्यो जग्गा सुन्तला बगानमा परिणत भयो।
रोजगारीका लागि पोर्चुगल गएका जग्गाधनीको परिवार पोखरा बसाई सरेपछि श्रेष्ठले किनेको जग्गामा रहेको सुन्तला बगानको स्याहार हुन छाडेको थियो।
हाल श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल, तरकारी तथा कृषि फार्ममा पुरानो १५० बोट सुन्तलाले मलजल पाएपछि उत्पादन दिन थालेका छन्। थप सात सय बिरुवा पनि हुर्किरहेका छन्। श्रेष्ठले पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, बिरुवा लगाउने, गोडमेल गर्ने लगायतका काममा जग्गा खरिदसहित ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्।
यस वर्ष मात्रै १५ लाख रुपैयाँको सुन्तला बिक्री भएको श्रेष्ठले बताए। कृषिबाट राम्रो आम्दानी हुने देखेर थप चार रोपनी जग्गा किनेर फार्म विस्तार गरेको उनले बताए। दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठबाट प्रभावित भएर कृषि व्यवसायमा लागेका विकासको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन्। सुन्तला खेतीसँगै लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ।
श्रेष्ठले कृषि फार्मका लागि सरकारी निकायबाट कुनै अनुदान लिएका छैनन्। काठमाडौँका व्यापारीसँग सिधा सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनको भनाइ छ। घरजग्गा व्यापार छाडेर कृषिमा लागेका श्रेष्ठले बेनीमा रहेको दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्मको जिम्मा छोरालाई दिएका छन्।
दोसल्लेका अगुवा कृषक खगबिर पाईजाका अनुसार श्रेष्ठले सुन्तला खेती सुरु गरेपछि गाउँ छाडेर गएकाहरू पनि फर्किएर सुन्तला खेती गर्न थालेका छन्। श्रेष्ठले गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याएका कारण बजार झरेकाहरू गाउँ फर्किएर सुन्तला खेती गरिरहेका छन्।
समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको दोसल्लेका ४२ घरपरिवारले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन्। दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाका अनुसार गत वर्ष ८० लाख रुपैयाँको सुन्तला बिक्री भएको दोसल्लेबाट यस वर्ष १ करोड ८० लाख रुपैयाँ बराबरको सुन्तला फलेको छ।