कुनै दबाबमा नपरी काम गर्न प्रधानमन्त्रीको प्रहरीलाई आग्रह
काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरी प्रमाण र तथ्यमा आधारित भएर न्यायसङ्गत अनुसन्धान गर्न आग्रह गर्नुभएको छ।
भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीले सही ढंगले काम गरेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो। उहाँले अनावश्यक रूपमा त्रसित नभई न्याय स्थापनामा दृढ भएर अगाडि बढ्न प्रहरीलाई आग्रह गर्नुभयो।
“तपाईँहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ। जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ। त्यसैले तपाईँहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शिरमा राखेर काम गर्नुस्,” प्रधानमन्त्री ओलीले भन्नुभयो। उहाँले तस्कर, भ्रष्ट र ठगहरूमाथि अनुसन्धान गर्दा उल्टै उनीहरूका ठूला कुरा र हप्की सुन्नुपर्ने प्रवृत्तिबाट प्रभावित नहुन पनि आग्रह गर्नुभयो। “निर्घक्क भएर काम गर्नुस्। मुलुकमा शान्ति सुव्यवस्था कायम राख्नुका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रूपमा काम गर्नुस्,” उहाँले थप्नुभयो।
प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरू लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरूले आफ्नो स्वार्थ पूरा गर्न विरोधीसँग साँठगाँठ गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रूपमा स्थापित गर्दै यहाँभित्र मूल्याङ्कन र अवसरका क्रममा आफ्नो मान्छे तान्ने प्रवृत्ति भए त्यस्ता कमजोरी सच्याएर जानुपर्नेमा जोड दिनुभयो। २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन ७५ करोड ८७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गर्नुभयो र भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गर्नुभयो। नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ७४ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसदमा पेस भएको र त्यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर छिटो पारित गर्ने विश्वास दिलाउनुभयो।