ठमेलमा प्रहरीमाथि हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ, २८ माघ । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेकाे छ ।

यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।

ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई यही माघ २७ गते आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरिक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

उनीहरुले गस्तीमा रहेको प्रहरीको मोटरसाइकलसमेत तोडफोड गरेका थिए । प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।