हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, बागलुङ खण्डमा यातायात ठप्प
बागलुङ, १६ फागुन । आज बिहानैदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
सडकमा बाक्लो हिउँ जमेका कारण निसीखोला–पूर्वी रुकुम खण्डमा यातायात ठप्प भएको हो। निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिटसम्म हिउँ परेको र हिमपात अझै जारी रहेकाले सडक तत्काल खुलाउन सक्ने अवस्था नरहेको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए।
सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन रोकिएका छन्। अध्यक्ष घर्तीमगरका अनुसार हिमपात रोकिएर घाम लागेपछि मात्र मेसिनको प्रयोग गरी सडक खुलाउने प्रयास गरिनेछ।
काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। यसैगरी, नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ।