उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

उदयपुर, २३ फागुन । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार, बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो। अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप चालक त्रियुगा नगरपालिका–९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त जीप गाईघाट हिमशीखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *