मुस्ताङमा जलवायु परिवर्तनको असरले ढिलो गरी फुल्यो फलफूल

मुस्ताङ, २६ फागुन । मुस्ताङका शीतोष्ण फलफूल बगैँचामा यस वर्ष केही ढिलो गरी फूल फुलेको छ। घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूलका बोटहरू यतिखेर फूलले सेताम्मे भएका छन्।

विगतका वर्षहरूमा भन्दा यस वर्ष केही हप्ता ढिलो गरी फूल फुल्न थालेको केन्द्रले जनाएको छ। केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ। मुस्ताङमा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरु गरेको हो।

वसन्त ऋतुको आगमनसँगै यहाँका कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूलका बोटमा फूल फुलेका छन्। अत्यधिक चिस्यान चाहिने यी फलफूलका बोटमा फूल फुलेपछि केन्द्रमा अवलोकन गर्ने पर्यटक मोहित भएका छन्। तर स्याउका बोटमा भने चैतको अन्तिम वा वैशाखमा मात्र फूल फुल्ने केन्द्रले जनाएको छ।

केन्द्र प्रमुख पद्मनाथ आत्रेयका अनुसार यस वर्ष अधिकांश जातका फलफूलहरू फूल फुल्ने चरणमा रहेका छन्। यी फलफूलहरूलाई ८०० देखि १००० घण्टासम्म चिस्यानको आवश्यकता पर्छ।
समुद्री सतहदेखि १८०० मिटरदेखि ३००० मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यी फलफूलमा जलवायु परिवर्तनको असर देखिन थालेको छ। जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम छिटो हुन थालेको छ। मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने फलफूल जातहरू माथि सर्दै जान थालेका छन्।

केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र फलफूललाई प्रशोधन गरी बिक्री वितरण गर्ने काम गर्दै आइरहेको छ। खुर्पानीको ब्रान्डी, जाम र सुकुटी, आरुबखडाको वाइन र आरुको ताजा फल बिक्री गर्ने गरिएको छ।