सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा विकास खर्च निराशाजनक

काठमाडौँ, १ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म आइपुग्दा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म सरकारले रू. ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गरेको छ भने रू. ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च गरेको छ। यस हिसाबले सरकारको खर्च आम्दानी भन्दा रू. १ खर्ब ५३ करोड ४७ लाख बढी भएको छ।

यस अवधिमा सरकारको विकास खर्च अत्यन्तै कमजोर देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन मसान्तसम्म पुँजीगत खर्च वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्रै रहेको छ। सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू. ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट छुट्याएको थियो, तर हालसम्म रू. ८२ अर्ब ३३ करोड ६० लाख मात्रै खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रू. १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५.१२ प्रतिशत अर्थात् रू. ८ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख बराबरको खर्च भएको छ।

चालु शीर्षकमा रू. ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा ५१.२१ प्रतिशत अर्थात् रू. ५ खर्ब ८४ अर्ब १२ करोड ७८ लाख खर्च भएको छ। त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा रू. ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकोमा ४७.०७ प्रतिशत अर्थात् रू. १ खर्ब ७२ अर्ब ८९ करोड २२ लाख खर्च भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि रू. १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ५०.०२ प्रतिशत अर्थात् रू. ७ खर्ब ३८ अर्ब ८२ करोड १३ लाख मात्र असुली भएको छ। जसमध्ये कर राजस्वतर्फ रू. १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन भएकोमा ४९.७४ प्रतिशत अर्थात् रू. ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख सङ्कलन भएको छ।
त्यस्तै, गैरकर राजस्वतर्फ रू. १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात् रू. ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ।

सरकारको वैदेशिक अनुदान सङ्कलन पनि निकै कमजोर देखिएको छ। चालु आर्थिक वर्षका लागि रू. ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको १७.५१ प्रतिशत अर्थात् रू. ९ अर्ब १६ करोड २५ लाख मात्रै अनुदान लिइएको छ।