प्रहरी महानिरीक्षक (आईजी)मा दीपक थापा नियुक्त

काठमाडौं, ४ चैत्र । नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ। सरकारले दीपक थापालाई नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा नियुक्त गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

थापाले वसन्तबहादुर कुँवरको स्थान लिनेछन्, जो ३० वर्षे सेवा अवधिका कारण आज रातिबाट अवकाश हुँदैछन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत थापाले भोलि चैत ५ गतेबाट आफ्नो नयाँ कार्यभार सम्हाल्नेछन्।

प्रहरी प्रवक्ता दिनेश आचार्यका अनुसार, थापाले गृह सचिव गोकर्णमणि दुवाडीबाट दर्ज्यानी चिह्न (फुली) लगाएपछि महानिरीक्षकको कार्यभार सम्हाल्ने कार्यक्रम छ। यसअघि, निवर्तमान आईजी कुँवरले एक बिदाई समारोहमा थापालाई प्रहरी प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नेछन्।

भोलि बिहान १० बजे उपत्यकास्थित सम्पूर्ण प्रहरी युनिटका इन्चार्जको उपस्थितिमा थापाले कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

२०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका थापाले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, र जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन्।

२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी सेवामा प्रवेश गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन्। उनी भक्तपुरबाट प्रहरीको आईजीपी हुने दोस्रो व्यक्ति हुन्। यसअघि शैलेश थापा क्षेत्रीले पनि यो जिम्मेवारी सम्हालिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *