महिला र बालबालिका चिनजानकै व्यक्तिबाट बढी असुरक्षित, ९१ प्रतिशत यौनजन्य हिंसामा चिनजानकै व्यक्ति संलग्न

काठमाडौं, १४ चैत । नेपालमा महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका घटनामा ९१ प्रतिशतभन्दा बढी पीडकहरू चिनजानकै व्यक्ति हुने गरेको एक तथ्याङ्कले देखाएको छ।

नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्ममा दर्ता भएका दुई हजार ४७ मुद्दामा गरिएको विश्लेषणले यस्तो देखाएको हो।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार यी मुद्दाहरूमा दुई हजार २६३ जना अभियुक्त रहेका छन्। जसमध्ये एक हजार २०६ जना घर मालिक, केटा साथी जस्ता सामान्य चिनजानका व्यक्ति छन् भने ५७३ जना छिमेकी र २६५ जना पारिवारिक सदस्य रहेका छन्। २०० जना अपरिचित व्यक्ति र १९ जना शिक्षक पनि अभियुक्तको सूचीमा छन्।

पारिवारिक नातामा बुवा, श्रीमान्, काका, मामा, दाजुभाई, हजुरबुबा लगायतका सदस्यहरू संलग्न रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ। डीआईजी आचार्यले यस्ता अपराधलाई निरुत्साहित गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन सबैलाई आग्रह गरेका छन्।

उनले यौनजन्य हिंसा न्यूनीकरणका लागि बालबालिकालाई सानैदेखि यौन हिंसासम्बन्धी शिक्षा दिनुपर्ने र परिवार, विद्यालय र समाज सबै सचेत हुनुपर्नेमा जोड दिए।

“बालबालिकालाई परिवारको निगरानीमा राख्नुपर्छ र उनीहरूलाई ‘गुड टच’ र ‘ब्याड टच’ को बारेमा जानकारी गराउनुपर्छ,” उनले भने, “यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न सबैको सहयोग आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *