मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद

मुस्ताङ, १ वैशाख । मुस्ताङमा ठुलो परिमाणमा अवैध शालिग्राम शीला प्रहरीले बरामद गरेको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–३ स्थित इलाका प्रहरी कार्यालय छुसाङ चेक पोष्टले विभिन्न समयमा चेक गर्दा ३४ वटा सेतो बोरामा प्याकिङ गरिएको ८९४ केजी शालिग्राम शीला बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले आज जनाएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ घमीबाट जोमसोमतर्फ आउँदै गरेको ग३च ८१५२ नम्बरको बोलेरो जीपलाई शङ्का लागि चेकजाँच गर्दा अवैध शालिग्राम प्रहरीले फेलापारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ सुर्खाङ बस्ने ४१ वर्षीय कुनसाङ रेन्जिङ गुरुङले बोलेर जीपमा लोड गरेर अवैधरुपमा लुकाइछिपाइ शालिग्राम जोमसोमतर्फ ल्याउँदै गर्दा इलाका प्रहरी कार्यालय छुसाङले बरामद गरेको प्रहरी निरीक्षण अधिकारीको भनाइ छ । अवैध रुपमा ल्याउँदै गरेको शालिग्रामसहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण कार्यालय जोमसोममा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

यता एक्याप जोमसोमले शालिग्राम शिलासहित जीप, चालक र शालिग्राम ल्याउने धनीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रधान कार्यालय पोखरामा अनुसन्धानका लागि पठाइसकेको कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

मुस्ताङको दामोदरकुण्ड हुँदै कालीगण्डकी नदीमा जम्मा हुने शालिग्रामलाई हिन्दू धर्मशास्त्रमा विष्णु भगवान्को प्रतीकको रुपमा पुज्ने गरिन्छ । व्यावसायिक रूपमा ठूलो परिमाणमा शालिग्राम ओसारपोसार गर्नेविरुद्ध मुस्ताङ प्रशासन, प्रहरी र एक्यापले कडा निगरानी गर्ने गरेको छ । तर, व्यक्तिगत रुपमा फुटकर शालिग्राम शीला खरिद गरेर जिल्ला बाहिर लैजानका लागि प्रशासन प्रहरी र एक्यापले छुट दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *