नोरा फतेहीको नृत्यले काठमाडौँमा हजारौँलाई मन्त्रमुग्ध, नेपाली कला र आतिथ्यताको प्रशंसा

काठमाडौँ, ४ जेठ । भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो उत्कृष्ट प्रस्तुतिले हजारौँ नेपाली दर्शकको मन जित्नुभयो। पहिलोपटक नेपाल आउनुभएकी फतेहीले नेपाली कला र आतिथ्यताको पटक-पटक प्रशंसा गर्दै नेपाल र नेपालीबाट पाएको माया अविस्मरणीय रहेको बताउनुभयो।

कार्यक्रममा उनले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर ‘गेहरा समन्दर’ गीतमा सँगै नृत्य प्रस्तुत गर्नुभयो, जसले दर्शकलाई चकित तुल्यायो। त्यसैगरी, सामाजिक सञ्जालका ‘कन्टेन्ट क्रिएटर’ गौरव सिटौलालाई पनि दर्शकदीर्घाबाट मञ्चमा बोलाएर ‘दिलवर’ गीतमा सँगै नचाउनुभयो। सिटौलाले फतेहीका गीतमा नृत्य प्रस्तुत गर्दै आएका छन्।

आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म फतेहीले ‘स्नेक डान्स’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता लोकप्रिय गीतहरूमा ऊर्जावान् प्रस्तुति दिनुभयो। “नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ। यो सुन्दर देशका मानिस पनि सुन्दर छन्,” फतेहीले भन्नुभयो।

जेठ ३ गते शनिबार बिहान काठमाडौँ आइपुग्नुभएकी फतेही आइतबार बिहान संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नुभयो। कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका लागि वर्ल्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गरेका थिए।

कार्यक्रममा नेपाली कलाकारहरू गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *