राष्ट्रियसभाका सांसदहरूद्वारा बजेट कार्यान्वयनमा जोड
काठमाडौँ, २२ जेठ। राष्ट्रियसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरूले विगतमा उत्कृष्ट बजेट प्रस्तुत भए तापनि कार्यान्वयन पक्ष फितलो हुँदा अपेक्षित लाभ हासिल हुन नसकेको भन्दै यसपटक कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।
नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले विगतमा बजेट राम्रो भए पनि कार्यान्वयनमा कमजोरी, न्यून पूँजीगत खर्च र भ्रष्टाचार जस्ता समस्याले ग्रसित हुने गरेको औँल्याउनुभयो। उहाँले भन्नुभयो, “सरकारका सबै बजेट भाषण र योजना राम्रा र कर्णप्रिय नै हुन्छन्, तर मुख्य कुरा कार्यान्वयन हो। यद्यपि, अहिलेको बजेट धेरै महत्वाकांक्षी छैन र यसले नेपालको समसामयिक आर्थिक चुनौतीलाई सम्बोधन गर्ने प्रयास गरेको छ।”
नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रूपमा परिचालन गर्ने बजेटको प्रस्ताव सकारात्मक भएको बताउनुभयो। “नीति तथा कार्यक्रममा दलित समुदायलाई समेटिएन भन्ने गुनासो थियो, तर बजेटले त्यसलाई सम्बोधन गरेको छ। विशेषगरी दलितभित्रका अति पिछडिएका मुसहर, डोम र चमार जातिका विद्यार्थीलाई चिकित्सा शिक्षामा प्रोत्साहन गर्न दुई अर्ब ४४ करोड रुपैयाँ विनियोजन हुनु प्रशंसनीय छ,” उहाँले भन्नुभयो। सांसद भट्टराईले बजेटले विदेशी विद्यार्थीलाई आकर्षित गर्ने तथा उद्योग-व्यापार प्रवर्द्धन गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो।
नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले सोह्रौँ पञ्चवर्षीय योजना र गत वर्षको बजेट कार्यान्वयनलाई बेवास्ता गरिएको टिप्पणी गर्नुभयो।