राष्ट्रियसभामा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, २५ भदौ । राष्ट्रियसभाका सदस्यहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरूले दैनिक उपभोग्य वस्तुको अभाव र बाढीपहिरो प्रभावितको राहत तथा उद्धारसम्बन्धी विषयमा सदनमार्फत सरकारको ध्यान तानेका हुन्।

सांसद खम्मबहादुर खातीले बाजुरा जिल्लाको बुढीगण्डकीमा सम्झौताबमोजिम अस्पताल निर्माण सम्पन्न नभएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए। सांसद चन्द्रबहादुर केसीले बजारमा खाना पकाउने ग्यासको अभाव देखाई कालोबजारी भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरे, साथै बाढी प्रभावित क्षेत्रमा तत्कालको आवश्यकता पूर्तिका लागि तुइनलगायत यातायातको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए।

सदस्य जगत तिमल्सिनाले सार्वजनिक पदमा बसेका व्यक्तिहरू जिम्मेवार भई प्रस्तुत हुनुपर्नेमा त्यस्तो नभएमा अराजकता फैलिने भन्दै सचेत गराए। सदस्य धर्मेन्द्र पासवानले मधेश प्रदेशमा धेरै पुल अधुरो रहेको भन्दै काम यथाशीघ्र अगाडि बढाउन सरकारसँग माग गरे।

सांसद मीनासिंह रखालले भोटेकोशी बाढीमा परी हराएका आफ्ना श्रीमान्को खोजी गरिदिन माग गर्दै सामाजिक सञ्जालमा पीडितप्रति नै अश्लील गालीगलौज गर्नेलाई कारबाही गर्न माग गरिन्। सदस्य रञ्जित कर्णले कानुन निर्माणमा राष्ट्रियसभाबाट अवरोध पुगेको भन्ने अभिव्यक्तिप्रति विरोध जनाए भने सांसद रामकुमारी झाँक्रीले उक्त अवरोध कहाँ र कहिले भएको हो स्पष्ट पार्न आग्रह गरिन्।

सांसद रेखाकुमारी झाले भोटेकोशी बाढी प्रभावितलाई आवश्यकताअनुसार यथाशीघ्र राहत उपलब्ध गराउन ध्यानाकर्षण गराइन् भने सदस्य रोशनी मेचेले मोरङ कारागारमा भएको झडपको घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न आग्रह गरिन्।

सदस्य वासुदेव घिमिरेले देशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र आत्महत्याको दर बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। सदस्य सम्झना देवकोटाले गत वर्ष र यस वर्षको भदौमा नै प्राकृतिक विपत्ति आइलागेको उल्लेख गर्दै त्यस्ता विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिइन्।

सदस्यहरू सुनीलबहादुर थापा र सोमनाथ पोर्तेलले राज्यका जिम्मेवार निकायमा बसेका व्यक्तिहरूको अभिव्यक्तिले अरूलाई चोट नपुर्‍याउने गरी सचेत रहनुपर्ने बताए।