गोकर्णेश्वर मेलाको तयारी पूरा, लाखौं भक्तजन आउने अपेक्षा
काठमाडौं, २५ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औंशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको छ।
बाबुको मुख हेर्ने दिनका रूपमा प्रचलित यस पर्वका दिन बाबु नभएकाहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातन परम्परा रहँदै आएको छ।
यसै परम्पराअनुसार आगामी भदौ २६ गते शुक्रबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाखौं भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउनेछन्। मेलाको तयारी हिजैदेखि थालिएको थियो र आज बिहानैदेखि मन्दिर क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ। ठाउँ ओगट्नकै लागि केही भक्तजन आजैदेखि मन्दिर क्षेत्रमा आई बसेका छन्।
‘उत्तरगया’का नामले समेत चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भइसकेको मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम महतले रासस्लाई जानकारी दिए। मेलाका लागि सात वटा उपसमिति गठन गरी तयारी अघि बढाइएको उनले बताए। गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने गरेकैले यस औंशीलाई ‘गोकर्णे औंशी’ का नामले पनि चिनिन्छ।
यस दिन मन्दिर परिसरमा दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको लामो लस्कर लाग्ने गर्छ। मेला व्यवस्थापनका लागि आजैदेखि २०० जना स्वयंसेवक परिचालन गरिएको अध्यक्ष महतले जनाए। शुक्रबार नेपाल मेडिकल कलेज र माकलबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश नदिने गरी व्यवस्था मिलाइएको समितिले जनाएको छ।
यस वर्ष नेपाली सेनाको विपद् व्यवस्थापन गणबाट समेत थप जनशक्ति परिचालन गरी वाग्मती तटमा सुरक्षित व्यवस्थापन गर्न लागिएको छ। लाखौं भक्तजनको आवागमनका कारण मोबाइल नेटवर्क अवरुद्ध हुने भएकाले मन्दिर परिसर र वडा कार्यालय गरी दुई स्थानमा नेपाल टेलिकमको टावर भ्यानको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए। आजैदेखि भक्तजनको चाप बढेसँगै जोरपाटी–गोकर्णेश्वर क्षेत्रमा सवारी चाप पनि बढेको छ।
यसै अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा समेत पितृप्रति श्रद्धाभक्तिका साथ श्राद्ध, तर्पण गर्ने भक्तजनको भीड लाग्ने गर्छ। तर यस वर्ष बेत्रावतीमा भोटेकोशी बाढीका कारण असहज अवस्था रहेकाले त्यहाँ मेला लाग्ने वा नलाग्ने अझै निश्चित हुन सकेको छैन।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको भोजन खुवाई आशीर्वाद प्राप्त गरेमा सुख प्राप्त हुने विश्वास छ। मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत विभिन्न तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ। यस दिन थोरै दान गरे पनि हजारौं गुणा बढी फल प्राप्त हुने भएकाले यसलाई पुण्य पर्वका रूपमा शास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ।