हर्मुजमा अमेरिका–इरान युद्ध: खाडीको समुद्री वातावरण किन जोखिममा?

 

काठमाडौं ।  हर्मुज जलडमरूमध्य — इरानमाथि अमेरिका–इजरायलको सैन्य कारबाही र त्यसको प्रतिकारमा इरानले समुद्री क्षेत्रमा गरिरहेका आक्रमणका कारण विश्वको महत्वपूर्ण तेल मार्ग हर्मुज जलडमरूमध्य गम्भीर वातावरणीय जोखिमको केन्द्र बन्दै गएको छ।

अमेरिका र इरानले हर्मुज आसपास तेल बोकेका ट्यांकर तथा अन्य पानीजहाजलाई निशाना बनाउन थालेपछि ठूलो तेल चुहावट, आगलागी वा पानीजहाज डुब्ने जोखिम बढेको हो। यस्तो दुर्घटना भए खाडी क्षेत्रमा समुद्री जीव, तटीय क्षेत्र र माछापालनमा दीर्घकालीन क्षति पुग्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

तेल ट्यांकरहरू हर्मुजमा रोकिए

मरीन ट्राफिकको तथ्यांकअनुसार सोमबारसम्म ४२ वटा तेल ट्यांकर हर्मुज जलडमरूमध्य पार गर्न प्रतीक्षारत थिए। खाडी तथा ओमानको खाडी क्षेत्रमा भने सयौँ अन्य पानीजहाज रोकिएका वा निकै कम गतिमा अघि बढिरहेका थिए।

ती ४२ ट्यांकरमध्ये १८ वटा तेल बोकेका थिए। उनीहरूले वास्तवमा कति तेल बोकेका छन् भन्ने यकिन नभए पनि ती जहाजहरूको संयुक्त क्षमता करिब १७ लाख ६० हजार घनमिटर तेल तथा पेट्रोलियम पदार्थ रहेको अनुमान छ।

यो परिमाण करिब १ करोड ११ लाख ब्यारेल तेल बराबर हुन्छ। अर्थात् विश्वको एक दिनको कुल तेल मागको करिब ११ प्रतिशत। यति धेरै तेल करिब ७१४ वटा ओलम्पिक आकारका पौडी पोखरी भर्न पर्याप्त हुन्छ।

यस्ता ट्यांकरमाथि ठूलो आक्रमण भए जहाजमा आगलागी हुन, जहाज डुब्न वा लाखौँ लिटर तेल समुद्रमा चुहिन सक्ने जोखिम छ।

समुद्रमा फैलिएको तेल हावा र समुद्री धारासँगै मूल दुर्घटनास्थलभन्दा निकै टाढासम्म पुग्न सक्छ। यसले तटीय क्षेत्र, माछा तथा अन्य समुद्री जीव र संवेदनशील समुद्री पारिस्थितिक प्रणालीमा गम्भीर क्षति पुर्‍याउन सक्छ।

पछिल्ला दिनमा बढ्यो ट्यांकरमाथिको हमला

सेप्टेम्बर ५ मा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानी तीन तेल ट्यांकरमाथि हमला गरेको जनाएको थियो।

तीमध्ये एउटा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप नजिक, अर्को जास्क नजिक र तेस्रो खाली ट्यांकरमाथि ओमानको खाडीमा हमला गरिएको थियो। तेस्रो जहाजका चालक दललाई जहाज छाड्न आदेश दिइएपछि आक्रमण गरिएको अमेरिकी पक्षको भनाइ थियो।

सेप्टेम्बर ८ मा अमेरिकाले थप पाँच इरानी तेल ट्यांकरमाथि हमला गरेको थियो। त्यसपछि इरानले जोर्डनस्थित अल–अज्राक हवाई आधारमाथि प्रत्याक्रमण गरेको थियो।

त्यसअघि इरानले जलडमरूमध्य नजिक रहेको अमेरिकी विमानवाहक पोत र नौसेनाको एउटा युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी सेन्टकमले जनाएको थियो।

इरानले पनि हर्मुजमा आफूले ‘अनधिकृत मार्ग’ प्रयोग गरिरहेका तीन तेल ट्यांकरलाई निशाना बनाएको तथा अन्य स्थानमा अमेरिकासँग सम्बन्धित तीन पानीजहाजमाथि हमला गरेको जनाएको छ।

यसरी दुवै पक्षबाट भइरहेको प्रत्याक्रमणले हर्मुजलाई सम्भावित ठूलो वातावरणीय दुर्घटनाको जोखिममा पुर्‍याएको छ।

ओमानको तटमा पहिल्यै फैलिँदै छ तेल

हर्मुज क्षेत्रमा नयाँ आक्रमणको जोखिम बढिरहँदा ओमानको तटमा भने पहिलेदेखि नै तेल चुहावट भइरहेको छ।

जुनको सुरुआतमा चालक दलले सम्भावित विस्फोट भएको जानकारी दिएपछि क्यारोलिन बेजेन्गी नामको तेल ट्यांकर ओमानको तटबाट करिब २२ समुद्री माइल अर्थात् ४१ किलोमिटर टाढा दुर्घटनामा परेको थियो। त्यसबाट तेल चुहिरहेको छ।

रोयटर्सका अनुसार उक्त ट्यांकरमा करिब ८ लाख ब्यारेल तेल रहेको अनुमान गरिएको छ।

ओमानको वातावरण प्राधिकरणले तेल चुहावटले रास मद्राका आसपासको करिब ४० किलोमिटर तटीय क्षेत्र र मासिराह द्वीपलाई असर गर्न सक्ने चेतावनी दिएको छ।

त्यस्तै, अगस्ट ३ मा लाइबेरियाको झन्डा बोकेको मिनोअन पायोनियर नामक मालवाहक पानीजहाज ओमानको तट नजिक अज्ञात वस्तुको प्रहारमा परेपछि आगलागी भएको थियो।

अगस्ट १० मा खिचिएका भू–उपग्रह तस्बिरमा क्युशम द्वीप नजिक ठूलो तेलको तह देखिएको थियो। अर्को तेलको तह सिर्री द्वीप नजिक पनि देखिएको थियो। विज्ञहरूले क्युशम नजिकको तेलको तह मिनोअन पायोनियरसँग सम्बन्धित हुन सक्ने बताएका छन्, यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन।

खाडीको समुद्री जीवमा कस्तो असर पर्छ?

कतार विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रका अनुसन्धानकर्ता फारेस अल–मोमानी र पोन्नुमोनी वेथामोनीका अनुसार सन् १९८० को दशकदेखि नै खाडी क्षेत्र दीर्घकालीन तेल प्रदूषणको चपेटामा छ।

खाडी क्षेत्रमा तीव्र औद्योगिक तथा आर्थिक विकाससँगै समुद्री तटमा पानी प्रशोधन तथा नुनिलो पानीलाई खानेपानीमा रूपान्तरण गर्ने प्लान्ट, विद्युत् केन्द्र, तेल प्रशोधन केन्द्र, तेल उत्खनन संरचना तथा अन्य पूर्वाधारहरू व्यापक रूपमा निर्माण गरिएका छन्।

यसका कारण खाडी विश्वकै सबैभन्दा बढी मानवीय गतिविधिबाट प्रभावित समुद्री क्षेत्रमध्ये एक बनेको उनीहरूको भनाइ छ।

यसअघि सन् १९९१ को खाडी युद्धका क्रममा पनि समुद्री वातावरणमा ठूलो क्षति पुगेको थियो। कुवेतबाट पछि हट्ने क्रममा इराकी सेनाले तेलका कुवा जलाएका थिए। ती कुवा महिनौँसम्म बल्दा उत्तरी खाडीमा ठूलो परिमाणमा तेल फैलिएको थियो।

दक्षिणी कुवेतदेखि साउदी अरबको अबु अली द्वीपसम्म ७७० किलोमिटरभन्दा बढी तटीय क्षेत्र तेल र टारले ढाकिएको थियो। यसले समुद्री जीव तथा स्थानीय पारिस्थितिक प्रणालीमा दशकौँसम्म असर पारेको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार त्यसबेलाको तेल प्रदूषण यति ठूलो थियो कि सफाइ अभियान पुनःस्थापनाभन्दा क्षति नियन्त्रणमा बढी केन्द्रित हुनुपरेको थियो।

अहिले फेरि संकटमा समुद्री पारिस्थितिक प्रणाली

करिब ३५ वर्षपछि इरान युद्धका कारण खाडीको कमजोर समुद्री पारिस्थितिक प्रणाली फेरि जोखिममा परेको छ।

दक्षिणी इरानको तटीय क्षेत्रमा अमेरिकी हवाई आक्रमणका क्रममा पानीजहाज र तेल ट्यांकरलाई निशाना बनाइएको छ भने इरानले पनि विभिन्न देशका जहाज र ट्यांकरमाथि प्रत्याक्रमण गरिरहेको छ।

दक्षिण फ्लोरिडा विश्वविद्यालयले जुनमा सार्वजनिक गरेको एउटा अध्ययनअनुसार उपग्रहबाट प्राप्त तस्बिरका आधारमा मार्च महिनामा खाडी र हर्मुज जलडमरूमध्य क्षेत्रमा देखिएका तेल चुहावट अघिल्लो वर्षको सोही अवधिको तुलनामा चार गुणा बढी थिए।

अध्ययन टोलीले हर्मुज र आसपास रोकिएका पानीजहाजबाट तेल चुहावटका घटनाहरू उल्लेख्य रूपमा देखिएको जनाएको छ।

समुद्रको सतहमा फैलिने तेलले पानी प्रदूषित गर्नुका साथै समुद्री जीवलाई विषाक्त असर पुर्‍याउँछ। यसले कोरल रिफ र म्यान्ग्रोभजस्ता संवेदनशील क्षेत्रलाई ढाकेर क्षति पुर्‍याउन सक्छ।

कोरल रिफदेखि समुद्री कछुवासम्म जोखिम

खाडी क्षेत्र विश्वकै सबैभन्दा तातो र नुनिलो समुद्री वातावरणमध्ये एक भए पनि यहाँ कोरल रिफ र म्यान्ग्रोभ वनजस्ता महत्वपूर्ण पारिस्थितिक प्रणाली छन्।

खाडी तुलनात्मक रूपमा उथलो र अर्ध–बन्द समुद्री क्षेत्र भएकाले यहाँ कोरल रिफ, समुद्री घाँसे मैदान, म्यान्ग्रोभ, हिलोयुक्त तटीय क्षेत्र र नुनिलो दलदल पाइन्छन्।

यी क्षेत्र माछा, समुद्री कछुवा, डुगोङ तथा आप्रवासी चराका लागि भोजन र प्रजननस्थलका रूपमा महत्वपूर्ण छन्। साथै, तटीय समुदायको माछापालन र समुद्री तटको संरक्षणमा पनि यिनको महत्वपूर्ण भूमिका छ।

भारतीय महासागरसँग खाडीको पानीको आदानप्रदान सीमित भएकाले प्रदूषण फैलिँदा त्यसको असर लामो समयसम्म रहन सक्ने विज्ञहरू बताउँछन्।

ओमानको सुल्तान कबुस विश्वविद्यालयका सहप्राध्यापक हुसेन साम अल–मस्रुरीका अनुसार तेल तथा पेट्रोलियममा पाइने हाइड्रोकार्बनले माछा, कोरल, प्लाङ्कटन र अन्य समुद्री जीवमा प्रत्यक्ष असर पार्न सक्छ। विशेषगरी माछाका अण्डा र भर्खरै निस्किएका लार्भा बढी संवेदनशील हुन्छन्।

उनका अनुसार कोरल रिफ, म्यान्ग्रोभ, समुद्री घाँसे मैदान र तटीय तलछटमा प्रदूषक लामो समयसम्म रहन सक्छन्।

यसले पानीको गुणस्तर, खाद्य शृंखला, माछाको वितरण तथा प्रजनन र बसाइँसराइको ढाँचामा समेत असर पार्न सक्छ। अन्ततः माछापालनमा निर्भर तटीय समुदायले कम माछा पाउने, लागत बढ्ने र आम्दानी घट्ने जोखिम हुन्छ।

खानेपानी आपूर्तिमै असर पर्न सक्ने चिन्ता

खाडीका देशहरू आफ्ना करिब ६ करोड ५० लाख मानिसका लागि खानेपानीको प्रमुख स्रोतका रूपमा समुद्री पानीलाई प्रशोधन गर्ने डिसेलिनेसन प्लान्टमा निर्भर छन्।

इरानको दक्षिणी तटमा पनि थुप्रै डिसेलिनेसन प्लान्ट छन्। तीमध्ये केही क्षेत्रमा अमेरिकी आक्रमणसमेत भएका छन्। इरानको दक्षिणी तटीय क्षेत्रमा करिब १ करोड ५० लाख मानिस बसोबास गर्छन्।

तेल समुद्रमा चुहिँदा डिसेलिनेसन प्लान्टले प्रयोग गर्ने कच्चा पानीको गुणस्तर प्रभावित हुन सक्छ। यसले पानी प्रशोधन प्रक्रियामा समस्या निम्त्याउन सक्छ र गम्भीर अवस्थामा प्लान्टको सञ्चालन केही समय रोक्नुपर्ने अवस्था आउन सक्छ।

तर, जोखिमको स्तर तेल चुहावट भएको स्थान, समुद्री धाराको दिशा, पानी तान्ने केन्द्रको दूरी तथा गहिराइ र प्रयोग गरिएको प्रशोधन प्रविधिमा निर्भर हुने अल–मस्रुरी बताउँछन्।

आधुनिक निगरानी प्रणाली, समुद्री प्रदूषणको मोडलिङ तथा उन्नत प्रशोधन प्रविधिले जोखिम उल्लेख्य रूपमा कम गर्न सक्ने भए पनि प्रदूषणको प्रारम्भिक पहिचान नै सबैभन्दा महत्वपूर्ण उपाय हुने उनको भनाइ छ।

तेल प्रदूषण भएको पानी डिसेलिनेसन प्रणालीमा प्रवेश गर्न नदिन सके खाडी क्षेत्रको संवेदनशील समुद्री वातावरणसँगै करोडौँ मानिसको खानेपानी आपूर्तिमाथिको जोखिम पनि कम गर्न सकिने विज्ञहरूको निष्कर्ष छ।