सूर्यविनायकमा गणेश चतुर्थी जात्राको तयारी पूरा, रथयात्रासहित हुनेछ सिन्दुर जात्रा

भक्तपुर, २५ भदौ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा यस वर्षको गणेश चतुर्थी पर्व हर्षोल्लासपूर्वक मनाउने तयारी पूरा भएको छ।

रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबका प्रतिनिधिले जात्राको तयारी सम्पन्न भएको जानकारी दिए। गणेश चतुर्थीका अवसरमा रथयात्रासहित सिन्दुर जात्रा गर्ने तयारी गरिएको छ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले संस्कृति, परम्परा, आस्था र एकताको प्रतीकका रूपमा गणेश चतुर्थीलाई भव्य तथा सभ्य ढंगले मनाउने तयारी भइरहेको बताए। उनका अनुसार जात्रा सूर्यविनायक गणेश मन्दिरबाट सुरु भई भक्तपुरका वडा नं. ६ र ८ को परिक्रमा गर्दै सूर्यविनायक चोकसम्म पुर्‍याइनेछ, त्यसपछि पुनः मन्दिरमै फर्काइनेछ।

जात्रा व्यवस्थित रूपमा सम्पन्न गर्न सूर्यविनायक तीनधारा खानेपानी सरसफाइ उपभोक्ता समिति, ढलचा गुठी, मूल पुजारी ईश्वरीप्रसाद भट्टराई तथा विभिन्न धिमेबाजा समूहको सक्रिय सहभागिता रहने बस्नेतले जानकारी दिए। विसं २०७८ देखि भव्य रूपमा मनाउँदै आएको यस जात्राको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय तह र स्थानीयवासीको भूमिका उल्लेखनीय रहेको छ।

प्रबन्ध समितिका उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्काले जात्रा तथा पर्व सञ्चालनमा स्थानीय तहको निरन्तर सहयोग र रचनात्मक भूमिका रहँदै आएको बताए। जात्रा सहज बनाउन वडा नं. ६ र ८ बाट तीन–तीन लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए। गणेश चतुर्थीलाई पर्वका रूपमा मनाउन थालिएसँगै यो पहिले सूर्यविनायक मन्दिर क्षेत्र र वडा नं. ६–८ मै सीमित रहे पनि हाल देशैभरको चर्चित पर्वका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ।

सूर्यविनायक युवा क्लबका अध्यक्ष दीप गिरीले हरेक क्षेत्र, तह र तप्काबाट सहयोग प्राप्त भएकाले जात्रा सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे। जात्रा सञ्चालनका लागि विभिन्न समिति गठन गरिएको उनले जनाए। सूर्यविनायकको गणेश मन्दिर भक्तजनको आस्था र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित छ।

गणेश चतुर्थीका दिन रथयात्रा, सिन्दुर जात्रा तथा धिमेबाजासहितको सांस्कृतिक गतिविधिले स्थानीय मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।