खोटाङको विद्यालय भवनमा भ्रष्टाचार, पूर्वजिशिअसहित ९ जनाविरुद्ध २५ लाखको बिगो दाबी
काठमाडौं, २३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङको एक विद्यालय भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले उनीहरूमाथि २५ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। मुद्दामा तत्कालीन जिशिअ नेपालसँगै तत्कालीन इन्जिनियर बृधन यादव, सब-इन्जिनियर शिवराज राई, लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठ प्रतिवादी बनाइएका छन्।
त्यसैगरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ स्थित कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्षद्वय टिकाराम राई र हरिनारायण राई तथा निर्माण जिम्मा लिएका जयप्रसाद राईविरुद्ध पनि मुद्दा दायर भएको छ।
कृष्ण उच्च माविमा चारकोठे आरसीसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख अनुदान र २१ लाखभन्दा बढी जनसहभागिता गरी कुल ४५ लाख रुपैयाँको बजेट थियो। तर, निर्माणका क्रममा व्यापक अनियमितता भएको अख्तियारको अनुसन्धानले देखाएको छ।