अदालतको अवहेलना गरेकाे भन्दै ‘दृष्टि न्युज’ का अध्यक्ष र सम्पादकसँग २५ हजार धरौटी माग

काठमाडौँ, १२ असार । विशेष अदालतले एक समाचारका कारण अदालतको अवहेलना भएको ठहर गर्दै ‘दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत् इजलासले यस्तो आदेश जारी गरेको हो।
उक्त अनलाइनले गत असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। सोही समाचारले अदालतको निष्ठा र स्वतन्त्र न्याय सम्पादनमाथि आँच पुर्‍याएको भन्दै नवराज सापकोटासहित पाँच जनाले अवहेलना मुद्दा दायर गरेका थिए।

यसअघि असार ९ गते अदालतले समाचार नहटाईकनै तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको थियो। बयानका क्रममा अध्यक्ष श्रेष्ठले समाचारको जिम्मेवारी कार्यकारी सम्पादकमा रहने जिकिर गरेका थिए। अदालतले श्रेष्ठले बयानमा उल्लेख गरेका साक्षीलाई असार १५ गते बकपत्रका लागि उपस्थित गराउन पनि आदेश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *