खुलेको एक दिन नबित्दै बनेपा–नाला सडक फेरि बन्द

काभ्रेपलाञ्चोक, २३ असार । शुक्रबार राति पुल भाँचिएर अवरुद्ध भएको बनेपा–नाला–भक्तपुर सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको २४ घण्टा नबित्दै पुनः बन्द भएको छ ।

आइतबार साँझ परेको अविरल वर्षासँगै पुण्यमाता खोलामा आएको बाढीले अस्थायी रूपमा राखिएको ह्युमपाइपमाथिको माटो बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार, नाला क्षेत्रमा भएको भारी वर्षाले खोलाको बहाव बढेर ह्युमपाइपले थेग्न नसकेपछि सडकको संरचना नै बगाएको हो ।

यसअघि, फलामे पुल भाँचिएपछि बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहान मात्रै ह्युमपाइप राखेर बाटो खुलाइएको थियो । यो सडक अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक खण्डको महत्त्वपूर्ण वैकल्पिक मार्ग भएकाले यसको अवरोधले हजारौँ यात्रुलाई प्रत्यक्ष असर परेको छ ।