सुनमा विलासिता कर र हिरामा भ्याटको विरोधमा व्यवसायी आजपनि सडकमा

काठमाडौँ, २५ असार । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन र हिरामा लगाएको नयाँ करको विरोधमा सुनचाँदी व्यवसायीहरूले बुधबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घको संयुक्त आयोजनामा र्‍याली र कोणसभा सम्पन्न भएको हो।

व्यवसायीहरूले न्युरोडको जुद्धशालिकबाट र्‍याली सुरु गरी इन्द्रचोक, असन, जमल, भद्रकाली, सहिदगेट हुँदै पुरानो नगरपालिका भवन अगाडि कोणसभा गरेका थिए।

आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेको थियो। उक्त निर्णयले व्यवसाय नै धराशायी बनाउने भन्दै व्यवसायीहरूले तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन्।