प्रख्यात दक्षिण भारतीय अभिनेता कोटा श्रीनिवास रावको निधन
काठमाडौं । दक्षिण भारतीय फिल्म उद्योगका प्रसिद्ध अभिनेता तथा खलनायक भूमिकाका लागि चर्चित कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ। आइतबार बिहान हैदराबादस्थित जुबली हिल्सस्थित आफ्नै निवासमा उनले अन्तिम सास फेरेका हुन्।
केही दिनअघि मात्रै ८३ औं जन्मदिन मनाएका श्रीनिवास लामो समयदेखि स्वास्थ्य समस्याले ग्रस्त थिए। उनको निधनले दक्षिण भारतीय चलचित्र क्षेत्रमा मात्र नभई सम्पूर्ण भारतीय फिल्म क्षेत्र शोकमग्न बनेको छ।
७५० भन्दा बढी फिल्ममा अभिनय
कोटा श्रीनिवास रावले तेलुगु, तमिल, कन्नड, र हिन्दी भाषामा गरी ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। ‘सन अफ सत्यमूर्ति’, ‘टेम्पर’, ‘येवादु’, ‘सरकार’, ‘प्रतिघात’, ‘रक्त चरित्र’ र ‘बागी’ जस्ता चर्चित फिल्महरूमा उनले यादगार खलनायक भूमिकामा अभिनय गरेका थिए।
सन् २०१५ मा भारत सरकारद्वारा पद्मश्री सम्मान प्राप्त गरेका रावले अभिनयकला मार्फत दर्शकको मन जित्न सफल भएका थिए।
राजनीतिक यात्रा
फिल्म अभिनयसँगै कोटा श्रीनिवासले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। सन् १९९९ देखि २००४ सम्म उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्व क्षेत्रबाट विधायक (सांसद) रहेका थिए। उनी प्रजातान्त्रिक मूल्यमान्यता भएका व्यक्तिका रूपमा समेत चिनिन्थे।
श्रद्धाञ्जली
उनको निधनमा तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्,
“प्रख्यात अभिनेता कोटा श्रीनिवास राव गरुको निधनले गहिरो स्तब्ध छु। फिल्म उद्योगका लागि उनको अनुपस्थिति अपूरणीय क्षति हो। उनले निर्वाह गरेका विविध भूमिकामार्फत उनी सधैं तेलुगु जनताको हृदयमा जीवित रहनेछन्। भगवानसँग प्रार्थना गर्दछु, उनको आत्माले शान्ति पाओस्।”
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले पनि गहिरो श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्,
“आफ्ना भूमिकाले सिनेमा दर्शकको मन जित्ने अभिनेता कोटा श्रीनिवास रावको निधन अत्यन्त दुःखद छ।”
अन्तिम अभिनय
उनले अन्तिम पटक सन् २०२३ मा आएको पिरियड एक्सन फिल्म ‘कब्जा’ मा अभिनय गरेका थिए। उक्त फिल्ममा उपेन्द्र राव, किच्चा सुदीप, श्रिया शरण र राजकुमारजस्ता कलाकारको मुख्य भूमिका थियो।
कोटा श्रीनिवास रावको निधनले भारतीय चलचित्र क्षेत्रमा एउटा युगको अन्त्य भएको छ। उनको योगदान सधैं स्मरणीय रहनेछ। परिवार र शुभेच्छुकप्रति गहिरो समवेदना।