‘बोधि संवाद’ : अर्थतन्त्र र भू-राजनीतिबारे मन्थन गर्न काठमाडौँमा जुट्दै स्वदेशी र विदेशी विज्ञ

काठमाडौँ, २७ जेठ । नेपालको अर्थतन्त्र र दक्षिण एसियाको फेरिँदो भू-राजनीतिक परिवेशबारे केन्द्रित भई काठमाडौँमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन ‘बोधि संवाद’ आयोजना हुने भएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सेसिफ) को आयोजनामा यो सम्मेलन हुन लागेको हो ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यो उच्चस्तरीय संवाद आगामी मङ्गलबारदेखि शुक्रबारसम्म चार दिनसम्म चल्नेछ । सम्मेलनमा नेपाल र विभिन्न देशका ख्यातिप्राप्त विज्ञ, कूटनीतिज्ञ र अर्थशास्त्रीहरूको सहभागिता रहनेछ ।

सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णका अनुसार यस सम्मेलनले मुख्य दुई विषयमा गहन छलफल गर्नेछ:
१. नेपालको आर्थिक विकासको सम्भावना र चुनौती ।
२. दक्षिण एसियामा विकास हुँदै गएको जटिल भू-राजनीतिक परिवेश ।
“हामीले बोधि संवादलाई आर्थिक, राजनीतिक तथा भू-राजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहस गर्ने एउटा साझा मञ्चका रूपमा विकास गर्न खोजेका हौँ,” अध्यक्ष कर्णले भने । उनले सम्मेलनबाट प्राप्त हुने महत्वपूर्ण निष्कर्ष र सुझावहरूलाई दस्तावेजका रूपमा लिपिबद्ध गरी सरकारलाई हस्तान्तरण गरिने समेत जानकारी दिए ।

नेपालको मौलिक ज्ञान र सरकारले अगाडि सारेको ‘सौम्य कूटनीति’लाई थप मजबुत बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले सम्मेलनको नाम नै ‘बोधि संवाद’ राखिएको आयोजकले जनाएको छ ।

यस सम्मेलनले नेपालको परराष्ट्र नीति र आर्थिक मार्गचित्र तय गर्न नीति निर्माताहरूलाई महत्वपूर्ण ‘इन्पुट’ दिने अपेक्षा गरिएको छ । चार दिनसम्म चल्ने विभिन्न सत्रहरूमा भू-राजनीतिक शक्ति सन्तुलन, क्षेत्रीय व्यापार र नेपालको रणनीतिक स्थानका विषयमा कार्यपत्रहरू प्रस्तुत र छलफल हुनेछन् ।