अमेरिकी हेलिकप्टरमाथि इरानी ड्रोनको प्रहार, बदलामा अमेरिकाको शक्तिशाली हमला

एजेन्सी, २७ जेठ । अमेरिकाले इरानको रणनीतिक क्षेत्रहरूलाई निशाना बनाउँदै शक्तिशाली हवाई हमला गरेको छ । हर्मुज जलमार्ग नजिकै आफ्नो एउटा सैन्य हेलिकप्टर खसेपछि त्यसको जवाफमा अमेरिकाले इरानमाथि मङ्गलवार साँझ आक्रमण गरेको हो ।

अमेरिकी समयअनुसार मङ्गलवार साँझ ५ बजे अमेरिकाले इरानको केश्म टापु र सिरिक बन्दरगाहमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास र हर्मुज जलमार्गको प्रवेशद्वार नजिकै रहेको जास्क क्षेत्रमा पनि ठूला विस्फोटका आवाजहरू सुनिएका छन् ।

मङ्गलवार बिहान अमेरिकी सेनाको एउटा ‘अपाचे’ हेलिकप्टर हर्मुज नजिकै ओमानको तट क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार इरानी ड्रोनले प्रहार गरेपछि उक्त हेलिकप्टर खसेको हो ।
हेलिकप्टरमा रहेका दुई चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको र उनीहरूको अवस्था स्थिर रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ । आफ्ना विमानमाथि प्रहार भएपछि अमेरिकाले त्यसको बदला लिन इरानका हवाई प्रतिरक्षा प्रणाली र रडार केन्द्रहरूलाई निशाना बनाएको रोयटर्सले उल्लेख गरेको छ ।

हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एबिसी न्यूज’सँग कुरा गर्दै अमेरिकाको जवाफी कारबाही अत्यन्त शक्तिशाली भएको बताएका छन् । उनले अमेरिकी सम्पत्ति र सेनामाथि हुने कुनै पनि आक्रमण सैह्य नहुने चेतावनी दिएका छन् ।

यता, इरानका विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत कडा प्रतिक्रिया दिएका छन् । उनले इरान कुनै पनि आक्रमण वा धम्कीको जवाफ दिन सक्षम रहेको र चुप लागेर नबस्ने चेतावनी दिएका छन् । “विदेशी सैन्य उपस्थितिले यस क्षेत्रमा दुर्घटनाको जोखिम बढाएको छ, उनीहरूले यो क्षेत्र तुरुन्त छोड्नुपर्छ,” अराग्चीले लेखेका छन् ।

यो घटनाले अमेरिका र इरानबीच हुन लागेको सम्भावित शान्ति सम्झौतामाथि ठूलो धक्का पुगेको विश्लेषण गरिएको छ । अप्रिलदेखि लागू भएको अस्थायी युद्धविरामपछि सम्बन्ध सुधार हुने अपेक्षा गरिए पनि यो सैन्य भिडन्तले वातावरण फेरि बिगारेको छ ।

विश्वको झण्डै २० प्रतिशत कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) ढुवानी हुने हर्मुज जलडमरूमध्यमा युद्धका कारण जहाज आवागमन प्रभावित भएको छ । अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले अवस्था सामान्य हुन अझै धेरै महिना लाग्न सक्ने बताएका छन् ।