साउन १ देखि सबै सरकारी भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट गर्न अर्थ मन्त्रालयको निर्देशन
काठमाडौं, २९ असार । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक परिपत्र जारी गर्दै मातहतका सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई यो व्यवस्था कडाइका साथ लागू गर्न भनेको हो ।
आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा गरिएको घोषणालाई कार्यान्वयन गर्न यो कदम चालिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
केही सार्वजनिक संस्थान, बोर्ड तथा समितिहरूमा अझै पनि विद्युतीय भुक्तानी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नआएको पाइएपछि मन्त्रालयले सबै निकायलाई पुनः सचेत गराउँदै परिपत्र जारी गरेको हो ।