एमाले सचिवालय बैठक आज बस्दै, विधान महाधिवेशनको तयारी तीव्र
काठमाडौं, १ साउन । नेकपा एमालेले विधान महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ ।
यसै सन्दर्भमा छलफल गर्न पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १ बजे बस्ने बैठक विधान महाधिवेशनको तयारीमा केन्द्रित रहने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
आजको बैठकमा विधान महाधिवेशनका लागि विभिन्न प्रस्तावहरूमाथि छलफल हुनेछ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची रहेको छ । विधान संशोधनको खाका बनाउने जिम्मेवारी यसअघि नै पौडेललाई दिइएको थियो ।
त्यसैगरी, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले तयार पार्ने सांगठनिक प्रतिवेदनका विषयवस्तुमाथि पनि प्रारम्भिक छलफल हुने गौतमले बताए ।
आजको सचिवालय बैठकले साउन २ गतेका लागि बोलाइएको पोलिटब्युरो बैठक र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गर्नेछ ।