विधान महाधिवेशनको खाका कोर्दै एमाले

काठमाडौं, १ साउन । आफ्नो आगामी राजनीतिक र सांगठनिक दिशा तय गर्ने उद्देश्यका साथ नेकपा एमाले विधान महाधिवेशनको बृहत् तयारीमा जुटेको छ। यसै सिलसिलामा आजबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको सचिवालय बैठकले महाधिवेशनको सम्पूर्ण मार्गचित्रमाथि छलफल थालेको हो।
यो बैठकलाई एमालेको भावी कार्यदिशा निर्धारण गर्ने महत्त्वपूर्ण प्रस्तावहरूको प्रारम्भिक छलफल मञ्चका रूपमा हेरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र राजनीतिक दृष्टिकोण समेटिएको “राजनीतिक प्रतिवेदन” प्रस्तुत गर्नुहुनेछ भने महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक संरचना र कार्ययोजना समेटिएको “सांगठनिक प्रतिवेदन” पेस गर्नुहुनेछ ।
त्यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले पार्टीको विधानमा गरिने समसामयिक सुधारसहितको “विधान संशोधन प्रस्ताव” छलफलका लागि प्रस्तुत गनुहुनेछ । सचिवालयबाट पारित भएपछि यी प्रस्तावहरू क्रमशः पोलिटब्युरो र केन्द्रीय कमिटी हुँदै भदौमा हुने विधान महाधिवेशनमा पेस हुनेछन्।