स्वार्थको ‘ग्रान्ड डिजाइन’ले विद्या भर्सेस ओली, ओली भर्सेस विद्या बनाउन खोजियोः राजेन्द्र गौतम (भिडियो अन्तर्वार्ता)
नेकपा (एमाले)का प्रचार विभाग प्रमुखु राजेन्द्र गौतमसँग मैत्री संवादमा केही दिन अघि मात्रै सम्पन्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको नवौं बैठक, त्यसले गरेका निर्णयलगायत विषयसँग केन्द्रित भएर कुराकानी गरेका छौँ ।
मुख्य गरेर निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रीय राजनीतिमा रोक लगाएको विषयले बढी माहोला तातेको छ । उहाँका सन्दर्भमा गरेको निर्णयलाई कसरी लिनु भएको छ ?
अहिले त्यो विषयले एउटा राष्ट्रिय प्राथमिकता पाएको छ । तर, नेकपा (एमाले) ले यो विषयमा कस्तो धारणा बनाउने ? भन्ने कुरा पार्टीको कुरा हो । यो कुनै प्राविधिक या कुनै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा आउने–नआउने विषयभन्दा पनि नेपालको गणतान्त्रिक आन्दोलनको इतिहासमा, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यो परिप्रेक्ष्यमा राष्ट्रपतिको गरिमामय जिम्मेवारी दुई–दुई पटक पूरा गर्नुभएको, राष्ट्र अध्यक्ष, संविधानको पालनकर्ता, संरक्षक, गणतन्त्रको गौरव, गणतन्त्रको प्रतीक, नेपाली सेनाको परमाधिपति भइसकेको र देशको अभिभावक, एउटा साझा व्यक्तित्व एउटा कुनै दल विशेषको सदस्यता लिएर पार्टी कमिटीमा संगठित हुने, त्यसको नेता हुने कुराले नेपालको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने हिसाबले यसको के प्रभावहरु हुन्छ भन्ने विषयलाई हेर्न जरुरी थियो । त्यहि अनुसार गरेको हो ।
केन्द्रीय कमिटीका अत्यधिक सदस्यहरुले यसमा बहसमा भाग लिनुभयो । त्यो बहसले निकालेको साझा निष्कर्ष के–हो भने यस्तो व्यक्तित्व, राष्ट्रिय गरिमा भएको व्यक्तित्व यसरी, यस प्रकारले राजनीतिमा फर्कनु उचित हुन्न भन्ने हो । त्यही निष्कर्षलाई केन्द्रीय कमिटीले निर्णयार्थ प्रस्तुत गरेर केन्द्रीय कमिटीले चाहिँ एउटा निर्णय गर्यो। निर्णय गरेपछि अहिले दुईटा प्रश्न त्यहाँ उभिएका छन्। एउटा उहाँलाई बन्देज गरियो, आउन दिएन, उहाँको सदस्यता रोकियो भन्ने कुरा गर्दै हुनुहुन्छ।
यो सन्र्दभमा कुरा गर्ने हो भने सदस्यता भन्ने कुरा प्राविधिक भइसक्यो अब। गम्भीर विषय चाहिँ के हो भने हाम्रो संविधानको ‘लेटर अफ स्पिरिट’ भन्छ। त्यसको मर्म र भावनाबमोजिम पूर्वराष्ट्रपतिलाई राष्ट्रपति हुँदाखेरि गरेका कामहरुको त्यसको ‘लेजिटिमेटि’ का लागि पनि उहाँ आउने कि नआउने भन्ने प्रश्न पनि गम्भीर प्रश्न छ। त्यसो हुनाले हाम्रो पार्टीले शालिनतापूर्वक उहाँलाई उच्च सम्मान व्यक्त गर्दै, उहाँको भूमिकाको उच्च सराहना गर्दै एउटा निष्कर्ष निकालेको हो । वास्तवमा यदि हामीले गणतन्त्रलाई संस्थागत विकास गरेर अगाडि लिएर जाने हो र जनतामा र व्यवस्थामा, प्रणालीमा एउटा गलत नजिर नबसाउने हो भने, गलत अभ्यास नगर्ने हो भने वास्तवमा उहाँ राजनीतिमा फर्कनु हुँदैन भन्ने हामीले निष्कर्ष निकाल्यौं ।
उहाँ व्यक्तिको हिसावले दोस्रो र कार्यकालको हिसावले पनि दुई कार्यकाल राष्ट्रपति बन्नुभयो । त्यसो भएको हुनाले अब यो विषयलाई पूर्व राष्ट्रपति रामवरण यादवले जुन भूमिका निर्वाह गरेर उहाँले आफूलाई प्रस्तुत गर्नुभएको छ, त्यो नजिर पनि हामीसँग एकातिर छँदैछ। त्यसलाई पनि स्मरण गर्न जरुरी हुन्छ भनेपछि एमालेले बनाएको राष्ट्रपतिले चाहिँ त्यो नजिर पालना गर्नु नपर्ने या त्यो अभ्यासभित्र पस्नु नपर्ने भन्ने हिसाबले हामी गयौं भने हामीले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र जसलाई एउटा व्यक्तिसँग केन्द्रित हुनुहुँदैन भन्ने नै हो। धेरै साथीहरुलाई के लाग्यो भने एउटा व्यक्ति हेरेर निर्णय गरियो। आग्रह गरियो, पूर्वाग्रह राखियो। त्यो बिल्कुल होइन। त्यो गलत कुरा हो। यो कसैप्रति आग्रह राख्नुपर्ने पनि भएन। पूर्वाग्रह राख्नुपर्ने पनि भएन। कसैसँग प्रतिशोध साँध्ने कुरा पनि भएन। किनभने विद्यादेवी भण्डारीको नेपालको कम्युनिस्ट आन्दोलनमा, लोकतान्त्रिक आन्दोलनमा के भूमिका छ भन्नेबारेमा यहाँ सबै परिचितै हुनुहुन्छ। त्यसो हुनाले, उहाँको त्यो गरिमामय भूमिका भएको हुनाले नै पार्टीले औपचारिक निर्णय गरेर त्यो राष्ट्र अध्यक्षको पदमा पठाएको हो। एउटा तर्क के–हो भने देशको राष्ट्र अध्यक्ष हो उहाँ। त्योभन्दा माथि कुनै, त्यो सुप्रिमोभन्दा माथि कुनै तह छैन। आकाश मात्रै छ खुल्ला। एउटा त्यो हुँदै हो।
दोस्रो चाहिँ गणतन्त्र यदि मुलुकमा छ भन्यो भने त्यसको सिम्बोल के हो त ? सिम्बोल भनेको चाहिँ राष्ट्रपति हो। गणतन्त्रको प्रतीक, गणतन्त्रको गौरव, त्यति मात्रै होइन, एउटा एउटा ‘युनिटी अफ नेसन’ को पनि एउटा चाहिँ सिम्बोल हो राष्ट्रपति भनेको। विभिन्न जात, जाति, भाषा, भाषीहरुलाई एउटा कहाँ ? उनीहरु एउटा युनिटीको सिम्बोल हो भनेर मैले भन्न खोजेको हो। भनेको यस्तो व्यक्तिलाई फेरि फर्काएर चाहिँ के रे भन राजनीतिमा ल्याउने या आउने कुरा भनेको उहाँको व्यक्तित्व, उहाँको गरिमा, उहाँले प्राप्त गर्नुभएको राष्ट्रिय गौरव, उहाँले निर्वाह गर्नुपर्ने गणतन्त्रको प्रतीकको हैसियतले निर्वाह गर्नुपर्ने त्यो भूमिकाको सन्दर्भलाई विवादमा तान्नु हुन्न। त्यसो हुनाले उहाँप्रतिको सम्मान पार्टीले जारी राख्नुपर्छ र उहाँलाई राजनीतिमा आउनु हुन्न भनेर पार्टीले औपचारिक रुपमा फैसला गर्नुपर्छ भनेर गर्यो।
तर तपाईंहरुले त्यसो भन्दै गर्दा निवर्तमान राष्ट्रपतिज्यूले चाहिँ उहाँकै निवास भंगालबाट केही पत्रकार साथीहरुसँग पनि ‘म माझ किराँतकी छोरी हुँ’ म त्यतिकै बस्नेवाला छैन भन्ने खालको धम्कीपूर्ण खालको सन्देश पनि पठाउनुभएको छ। यो धम्कीपूर्ण सन्देशलाई चाहिँ एमालेले कसरी हेरेको छ ?
स्वार्थ बाझिएपछि त्यसको क्रिया, प्रतिक्रिया अलि राप, तापका साथ आउँछ। त्यसो हुनाले यसप्रति पार्टीले कुनै उत्तेजित हुनुपर्ने आवश्यकता छैन। पार्टीले त संयमतापूर्वक के भनिरहेको छ भने, अहिले कुनै राप, तापमा नआइकन मुलुकको संविधानको, त्यसको मर्म र भावनाले, त्यसको लेटर अफ स्पिरिट हुन्छ । संविधानमा जा–नजा भन्नु पर्दैन। संविधानको लेटर अफ स्पिरिट भनेको त्यसको भावना र मर्मले नै के स्पष्ट गरेको छ भने राष्ट्रपतिहरु राजनीतिमा फेरि फर्केर आउँछन् भन्ने परिकल्पना गरेको छैन। आउनु हुँदैन नभने पनि परिकल्पना गरेको छैन। त्यसको नम्स भ्यालुले पनि त्यो दिँदैन। मोरालिटी भन्ने कुरा पनि आउँछ। र हिजो राष्ट्रपति हुँदा गरेका काम, कारबाहीहरुको लेजिटिमेटीको कुरा पनि आउँछ। यी सबै कुराले हेर्दा मैले यसमा आक्रोश व्यक्त गर्नुपर्ने या रातोपिरो हुनुपर्ने, यसमा प्रतिक्रिया दिएर हिँड्नुपर्ने भन्दा पनि यसलाई संयमतापूर्वक उहाँले ग्रहण गर्नुपर्छ । किनभने उहाँ हाम्रो पनि अग्रज हो, एउटा देशभक्त, एउटा परिवर्तनमा विश्वास गरेको, लैङ्गिक समानताका निम्ति धेरै लामो लडाइँ लडेको, परिवर्तनको निम्ति धेरै ठूलो लडाइँ लडेको, निरंकुशता विरुद्ध आन्दोलनमा धेरै ठूलो लडाइँ लडेको या गणतन्त्र ल्याउनका निम्ति पनि धेरै ठूलो लडाइँ लडेको व्यक्तित्व भएको हुनाले उहाँको व्यक्तित्वले पनि यो विषयलाई पार्टीले यो ढंगले किन निर्णय गर्यो भन्ने विषयमा यसको चाहिँ सम्भावनाहरु, आगामी दिनका सम्भावनाहरुलाई समेत ध्यानमा राखेर यसलाई रातोपिरो भएर जवाफ दिने या उत्तेजनामा आएर जवाफ दिने भन्दा पनि शालिनतापूर्वक यी निर्णयहरुको गम्भीरतामा, गम्भीरतालाई आत्मसात गरेर अगाडि जानुपर्छ। सम्मानित राष्ट्रपतिले र राष्ट्रपतिले राजनीतिमा नआए पनि उहाँ क्रियाशील हुनबाट कसैले वञ्चित गर्न सक्दैन राष्ट्रपतिलाई। उहाँको सामाजिक आन्दोलनको यति ठूलो क्षेत्र छ, शैक्षिक आन्दोलनको यति ठूलो क्षेत्र छ, सांस्कृतिक आन्दोलनको यति ठूलो छ।
इन्भाइरोमेन्टको यति ठूलो विषय छ, क्लाइमेट चेन्जको यति ठूला मुद्दाहरु छन्। यी कुनै पनि मुद्दाहरु बोकेर पूर्व राष्ट्रपतिहरुले त्यसको महत्त्वपूर्ण आइकन बन्न सक्छन्। त्यो भूमिका दिन सक्छन्। त्यसैले मुद्दा पाइँदैन कि, सामाजिक क्षेत्रमा काम गर्न पाइँदैन कि भनेर चिन्ता गर्नुपर्ने परिस्थिति छैन। त्यसमा पार्टीले ब्याक बोन भएर उहाँलाई सहयोग गर्छ। त्यो मलाई विश्वास छ। त्यसो हुनाले पार्टी निर्णयको गम्भीरता, यो व्यक्ति केन्द्रित, कुनै मान्छेले यसलाई के बनाउन खोजिरहेका छन् भन्दा विद्या भर्सेस ओली, ओली भर्सेस विद्या बनाउन खोजिरहेका छन् र यो भित्रको ग्रान्ड डिजाइनलाई बुझ्न जरुरी छ र निर्णयको गम्भीरतालाई, निर्णयको एसेन्सलाई बुझेर त्यसलाई आत्म, आफ्नो, आफूलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने म देख्छु। मैले हेर्दाखेरि। त्यसो हुनाले कुनै आक्रोश पोख्ने, पोखेर हिँड्ने या क्रिया–प्रतिक्रिया गरेर हिँड्ने भन्दा पनि हामी त्यो ढंगले अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ।
अहिले विद्या भण्डारी निकट हुँ भन्ने केही नेताहरु, उहाँले दिएका अभिव्यक्तिहरु सुन्दाखेर मदन भण्डारीको जनताको बहुदलीय जनवाद बोकेर हिँडिरहेको एमालेले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन अथवा उहाँको सदस्यता नवीकरण गर्न नै नदिनु भनेको जनताको बहुदलीय जनवादलाई नै लगेर भड्खालोमा हाल्नु हो, त्यसलाई लगेर आगोमा पोल्नु हो भन्ने खालकासम्म अभिव्यक्तिहरु दिने गरेका छन्। के उहाँहरुले भनेजस्तै साँच्चै त्यस्तै हो ?
जनताको बहुदलीय जनवाद भनेको नेपाली क्रान्तिको एउटा सिद्धान्त हामीले आत्मसात गरेका छौं। त्यो नेपाली मोडेलको मार्क्सवाद हो । यो कुनै, कुनै व्यक्तिको खोपीको देवता होइन । कसैले मात्रै पुज्ने, अमुक–अमुकले पुज्ने र अमुक–अमुकले नपुज्ने भन्ने होइन। हामीले त नेपालको, नेपाली क्रान्तिको एउटा मोडेल युनिक, मौलिक सिद्धान्तको रुपमा त्यसलाई विकास गर्न हामीले खोजिरहेका छौं र अहिलेको परिवर्तनलाई पनि यसले गाइड गरेको छ। अहिलेको समाजवाद निर्माणको अभियानको पनि यसले अगुवाइ गर्छ भनेपछि कुनै एउटा परिवार विशेष या व्यक्ति विशेष या क्षेत्र विशेष या जात विशेषमा केन्द्रित, यसलाई सिमामा बाँध्न सकिँदैन।
यो अहिले नेपाली मोडेलको मार्क्सवाद हो भनिसकेपछि यो प्रत्येक नेपाली जनजनमा यसका प्रभावहरु छन्। यसका गतिविधिहरु चलिरहेका छन्। त्यसो भएको हुनाले अब यसलाई पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नवीकरणसँग जोड्नु हुँदैन । उहाँ राजनीतिमा आउनु नै हुन्न, यसले गणतन्त्रमाथि चुनौती थपिन्छ भनेपछि त राजनीतिमा, उहाँको नवीकरण विषयको प्रसंग नै गौण भयो । सञ्चार माध्ययमले बहुदलीय जनवादसँग चुनौती थपिरहेका छन् र चुनौती गर्नेहरु उहाँहरु मात्रै हो भन्ने हिसाबले, चुनौतीको सामना गर्ने र यसलाई विकास गर्ने, विस्तार गर्ने उहाँहरु मात्रै हो भनेर उहाँहरु जसरी परिस्थितिलाई भड्काउने काम गरिरहनुभएको छ । तर पार्टीका कार्यकर्ताहरु, जसले जबज बुझेका छन्, जबजको महत्व बुझेका छन्, तिनीहरु यसको प्रतिरक्षा, यसको विस्तार, यसको विकासका निम्ति लाग्नेछन्। यो दुई–चार दिनको एउटा बहसको एउटा विषय मात्रै हो भन्ने मलाई लाग्छ।
त्यसो हुनाले यसलाई खोपीको देवता बनाएर खोपाभित्र कैद गर्ने चाहिँ प्रयास नगर्नका निम्ति चाहिँ अब साथीहरुलाई हामीले अनुरोध गर्ने हो। अरु धेरै त के भन्ने, अनुरोध गर्ने। तपाईंहरुको विद्वता, तपाईंहरुको ज्ञानको जुन के रे क्षितिज छ तपाईंहरुसँग, यसलाई, यसलाई सही ढंगले बुझ्न, यसलाई खोपीमा नराख्न, व्यक्ति विशेषको यो माल हो भनेर नभन्न पनि आग्रह छ । यो त नेपाली जनताको विषय भयो, नेपाली क्रान्तिको विषय हो। त्यसो हुनाले व्यक्ति विशेषमा या परिवारमा सीमित गर्न हुन्न । पकेटमा राख्ने रुमाल होइन जबज भनेर बुझ्न जरुरी छ । त्यसो भएको हुनाले जबजको महत्वलाई बुझ्नका निम्ति मैले अनुरोध गर्न चाहन्छु कि जबजको कन्टेन्ट के हो, त्यसको डेस्टिनेसन के हो, त्यसको महत्व के हो, त्यसमा गहिरिनका निम्ति हामीले अनुरोध गरौं। यति मात्रै अनुरोध गरौं साथीहरुलाई।
तपाईंहरुको यो खालको अहिले जुन एउटा द्वन्द्व भनौं अथवा एउटा मनोमाल्य भनौं, एकखालको जुन टकराव देखिरहेको छ नि, एउटा भंगाल र अर्को चाहिँ बालुवाटार देखाएर जुन खालको एउटा टकराव सुरु भइरहेको छ, यसले तपाईंहरुको मिसन चौरासीको जुन एउटा राजमार्गमा तपाईंहरु हिँडिरहनुभएको छ, कतै त्यो राजमार्गमा भलबाढी आएर, पहिरो गएर थुन्ने पो हो कि भन्ने खालले पनि आशंका गरेर कार्यकर्ताहरु अलिकति निराश पनि भन्न थालेका छन्। तपाईंलाई त्यस्तो लाग्दैन ?
मलाई बिल्कुल लाग्दैन त्यो। बिल्कुल किन लाग्दैन भन्दा मान्छे व्यक्तिका पछि दगुर्र्ने जमाना गइसक्यो। तपाईंलाई अलग ढंगले यसलाई सोच्नको लागि नयाँ विचार, नयाँ दृष्टिकोण, नयाँ कार्यक्रम, नयाँ नीति चाहिन्छ। त्यो नीति जो पार्टीले बोकेकै छ। यसको विकल्पमा हामीले कुनै नयाँ चिज खोजेका छैनौं। मैले के देख्छु भने यसलाई मान्छेले विभिन्न उपमा दिए पनि स्वार्थ समूहहरुको लडाइँ पछिल्लो छ। कसलाई अघि सारे, अगाडि सार्दा आफू सुरक्षित होइन्छ । कसलाई टाउकोमा बोकेर हिँड्दा आफ्नो पोजिसन क्लियर हुन्छ भन्ने छ ।
पार्टी र संगठन होइन कि आफू कति सुरक्षित होइन्छ, आफ्नो पोजिसन क्लियर हुन्छ भन्ने नामले झन्डाहरु बोकेर सिँगौरी खेल्ने काम भइरहेको छ। यसको कुनै ग्राउन्ड पनि छैन, तथ्य पनि छैन, कुनै वैचारिक आधार पनि छैन, कुनै राजनीतिक आधार पनि छैन । त्यसो हुनाले ती साथीहरुलाई पनि यस्ता खुद्रा कुराहरुमा नलाग्नका निम्ति, प्रष्ट ढंगले पार्टी निर्णयलाई बोकेर हिँड्ने, आजको ३० वर्ष होइन, अबको ५० वर्ष पछि गएर पनि नेकपा एमालेको यो नवौं केन्द्रीय कमिटीले गरेको बैठकको जो निर्णय छ, यो निर्णय ५० वर्ष होइन, १०० वर्ष पछाडि गएर पनि एमालेले ठीक निर्णय गरेको हो त्यतिबेला भन्ने चाहिँ के रे भनौं प्रमाणित हुन्छ। आज तपाईंले कुनै नागरिक समाज बोलेको छ ? कुनै विद्वान्, बुद्धिजीवीहरु बोलेका छन् ? यो निर्णय तिमीहरुले बेठीक गर्यौ भनेर ? बोलेको को छ त भन्दाखेरि जोसँग स्वार्थ बाझियो त्यही मात्रै बोलेको छ। जसको इन्ट्रेस्टमा ठेस लाग्यो त्यो मात्रै बोलेको देख्छु । त्यसकारण जे निर्णय गरियो, यो निर्णय ठीक गरियो भन्नेमा म छु । अझ एक हप्ता ढिलो भयो। टाइममा गर्नुपर्थ्यो यो निर्णय। यसमा एमाले न भाले, न पोथीको अवस्थामा बस्न मिल्दैनथ्यो। एमालेले एउटा त्यसमा पोजिसन, एउटा राजनीतिक निर्णय गर्न जरुरी थियो।
तपाईंहरुका धेरै जनवर्गीय संगठनका अधिवेशन, महाधिवेशनहरु यो बीचमा सम्पन्न पनि भए। एक ढंगले भन्ने हो भने त्यो महाधिवेशनमा उम्मेदवार बन्न नपाएका, उम्मेदवार बनेर पनि हारेका यी व्यक्तिहरुले अलिकति बढी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नजिक भएर उहाँलाई सक्रिय राजनीतिमा ल्याउनुपर्छ भनेर एकखालको पहलकदमी गरिरहेको देखिन्छ। जुन ढंगले एउटा पार्टीभित्र हुने अधिवेशन, महाधिवेशन, निर्वाचन र नेतृत्व छनोटका कुराहरु भनेका आन्तरिक विषयहरु हुन्। कति असन्तुष्ट हुन्छन्, कति सन्तुष्ट हुन्छन्। अवसर पाउनेहरु सन्तुष्ट हुन्छन्, नपाउनेहरु असन्तुष्ट हुन्छन्। त्यो एकखालको विश्वव्यापी नियम नै हो। तर त्यो असन्तुष्ट भएको समूहहरुलाई पनि तपाईंहरुले बोलाएर, उहाँहरुलाई ल यो हामी जिम्मेवारी दिन्छौं भन्ने ढंगले अथवा उहाँहरुलाई उचित खालको सम्मान नपुगेकाले पनि यो खालको अवस्था आएको हो कि भन्ने जस्तो चाहिँ तपाईंहरुलाई लाग्दैन ?
पार्टीमा नेतृत्वमा निरन्तर म एउटा व्यक्ति रहन्छु भन्ने कसैले परिकल्पना गर्यो भने भूमिकाले स्थापित हुने कुरा हो। स्थापित गर्यो, भूमिकाले उसको आवश्यकता ठान्यो भने त्यो व्यक्ति रहने भयो। उसको भूमिका हुन्छ नि त। उसले राजनीतिक नेतृत्व, उसको कार्यसम्पादन क्षमताले उसलाई निरन्तरता दिन चाह्यो भने कार्यकर्ताले पनि मलाई धेरै गल्ती गरिहाल्छ जस्तो मलाई लाग्दैन। तर के छ भन्दा के अब कमिटीले, त्यसोभए अधिवेशनहरु नै गर्नु नपर्ने, नहुने परिस्थिति आयो नि त। अधिवेशन भएपछि नेतृत्वमा कोही न कोही आउँछ। पुरानाले छोडेर नयाँ पनि आउन सक्छ, पुरानै पनि आउन सक्छ, दोहोरिन पनि सक्छ, नयाँ पनि हार्न सक्छ, पुरानो पनि हार्न सक्छ। एउटा विधिमा।
हो, नेतृत्वले नेतृत्व निर्माणमा पहलकदमी गर्ने, पहलकदमी भनेको चाहिँ सहमति खोजिदिने। सहमति भएन भने निर्वाचनबाट नेतृत्व छान्ने जो हाम्रो विधि हो नि, यो विधिलाई चाहिँ हामीले अक्षरशः पालना गर्नुपर्छ। यो विधि नहुँदा कतिपय ठाउँमा यी विधि हुन सकेनन् भने त्यसले विवाद बढी बढाउँछ र यी विधिलाई हामीले फूल फेजमा कार्यान्वयन गर्यौं भने विवाद कम हुन्छ। त्यसो भएको हुनाले कम्तीमा धैर्यता के हुनुपर्यो भने चुनाव म हारेँ, म चाहिँ के रे पराजित भएँ भने कम्तीमा एक वर्ष त धैर्यता हुनुपर्यो नि। छ महिना त धैर्यता हुनुपर्यो नि त। भर्खरै म पराजित भएर आइरहेको छु भने त। हामी पनि त पार्टी राजनीतिक जीवनमा पराजित भयौं, फेरि धुलो टकटकाउँदै फेरि उठेर आयौं। यो त अभ्यास हुन्छ। अब भोलि झन् हामी संख्या, कमिटीका संख्या घटाउँदैछौं।