‘मिस नेपाल २०२५’ मा डाक्टरदेखि स्कुबा डाइभरसम्म, २६ प्रतिस्पर्धी सार्वजनिक

 

काठमाडौं, १०असार ।  बहुप्रतिक्षित ‘मिस नेपाल २०२५’ को यात्राका लागि विभिन्न पेसा तथा पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने २६ जना प्रतिस्पर्धी सार्वजनिक भएका छन् । आयोजक हिडन ट्रेजरले शुक्रबार एक विशेष कार्यक्रमका बीच उनीहरूलाई ‘स्यास’ वितरण गर्दै प्रतियोगिता नम्बर प्रदान गरेको हो ।

यस वर्ष पनि विगतका वर्षहरूमा झैँ चिकित्सा पेसा, मानसिक स्वास्थ्य अभियान, योग शिक्षा र स्कुबा डाइभिङ जस्ता विविध क्षेत्रका महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ । यी २६ जना सुन्दरीले आगामी भदौ १४ गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भव्य ग्रान्ड फिनालेमा ‘मिस नेपाल’ को प्रतिष्ठित ताजका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता नम्बर छनौटको प्रक्रिया पनि रोचक रह्यो । यस वर्ष पनि प्रतिस्पर्धीहरूले आफैँले बक्सबाट आफ्नो प्रतियोगी नम्बर छनौट गर्ने अवसर पाएका थिए । यस क्रममा योग शिक्षिका आरती थापाले प्रतियोगी नम्बर १६ रोजिन् ।

 

 

प्रतिस्पर्धीहरूको विस्तृत परिचय:

  • आरती थापा (प्रतियोगी नम्बर १६): दोलखाकी २३ वर्षीया आरती थापा कम्प्युटर एप्लिकेसनकी विद्यार्थी हुन् र उनी योग शिक्षिकाका रूपमा पनि सक्रिय छिन् ।

  • एन्जिला रजक (प्रतियोगी नम्बर १३): २५ वर्षकी एन्जिला रजक काठमाडौंबाट प्रतिनिधित्व गर्दैछिन् । समाजशास्त्रकी विद्यार्थी एन्जिला एक ‘कन्टेन्ट क्रिएटर’का रूपमा पनि परिचित छिन् । विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यका साथ उनी मिस नेपालमा सहभागी भएको बताइन्छ ।

  • अनुप्रिया ठाकुर (प्रतियोगी नम्बर ६): जनकपुरकी २२ वर्षीया अनुप्रिया ठाकुर बिजनेसकी विद्यार्थी हुन् ।

  • अनुराधा शर्मा ढकाल (प्रतियोगी नम्बर ५): नुवाकोटकी अनुराधा शर्मा ढकाल २५ वर्षकी छिन् र पेसाले फार्मसिस्ट हुन् ।

  • आरशिया थापा (प्रतियोगी नम्बर ११): काठमाडौंकी आरशिया थापा २४ वर्षकी छिन् र पेसाले डाक्टर हुन् । उनले ‘आर्म्ड फोर्सेस मेडिकल कलेज’मा अध्ययन गरेकी छिन् र भारतको एक अस्पतालमा नेपालको प्रतिनिधित्व गर्दै ‘मिलिटरी मेडिकल अफिसर’का रूपमा काम गरिसकेकी छिन् ।

  • प्राज्ञिका क्षेत्री (प्रतियोगी नम्बर २६): प्राज्ञिका क्षेत्री पनि २६ वर्षीया डाक्टर हुन् र हाल नेपाल मेडिसिटी अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत छिन् ।

  • संस्कृति भट्टराई (प्रतियोगी नम्बर २): रुपन्देहीबाट सहभागी भएकी संस्कृति भट्टराई पनि चिकित्सा पेसामा छिन् र हाल इन्टर्नसिप गरिरहेकी छिन् ।

  • लुना लुइँटेल (प्रतियोगी नम्बर ९): प्रतियोगी नम्बर ९ रोजेकी २६ वर्षीया लुना लुइँटेल पेसाले नर्स हुन् । १७ वर्षको उमेरमा अस्ट्रेलिया गएकी उनी ‘क्लिनिकल नर्स स्पेसलिस्ट’का रूपमा कार्यरत छिन् । उनी एक प्रशिक्षित स्कुबा डाइभर पनि हुन् ।

  • सुदिना हुमागाईं (प्रतियोगी नम्बर ३): पनौतीकी २२ वर्षीया सुदिना हुमागाईंले हालै काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट ब्याचलर इन डेन्टल सर्जरीको अन्तिम परीक्षा दिएकी छिन् । उनी योग शिक्षिका र रेडियो प्रस्तोताका रूपमा पनि सक्रिय छिन् ।

  • उरुसा भण्डारी (प्रतियोगी नम्बर १२): काठमाडौंबाट सहभागी २६ वर्षीया उरुसा भण्डारी पनि डेन्टल पृष्ठभूमिकी हुन् र मोडलका रूपमा पनि परिचित छिन् ।

  • दीपशिखा नेपाल (प्रतियोगी नम्बर ७): झापाकी दीपशिखा नेपाल २४ वर्षकी छिन् । उनले वातावरण विज्ञानमा स्नातक गरेकी छिन् र जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानमा संलग्न छिन् । यसका अतिरिक्त उनी कार्यक्रम उद्घोषण गर्न पनि रुचाउँछिन् ।

  • जगदिश्वरी शाह: नेपालगन्जकी २५ वर्षीया जगदिश्वरी शाह आफूलाई एक सामाजिक अभियन्ताका रूपमा चिनाउँछिन् । उनले सामाजिक क्षेत्रमा करिब १० वर्षदेखि काम गर्दै आएकी छिन् । नेपालस्थित अमेरिकी दूतावासको ‘युथ काउन्सिल’की सदस्यसमेत रहेकी उनी सामाजिक परिवर्तनका लागि क्रियाशील रहेको बताउँछिन् ।

  • जसोदा कार्की: यस वर्ष थिएटर कलाकार जसोदा कार्की (दोलखा) ले पनि मिस नेपालमा सहभागिता जनाएकी छिन् । उनी राजनीतिशास्त्रकी विद्यार्थी हुन् ।

  • क्रिस्टिना बस्नेत (प्रतियोगी नम्बर १५): प्रतियोगी नम्बर १५ क्रिस्टिना बस्नेत मनोविज्ञानकी विद्यार्थी हुन् र ‘थिएटर पफर्मर’का रूपमा पनि चिनिन्छिन् । उनी आफूलाई ‘स्टोरी टेलर’का रूपमा प्रस्तुत गर्छिन् ।

  • निलिमा पाण्डे (प्रतियोगी नम्बर २४): काठमाडौंकी २१ वर्षीया निलिमा पाण्डे एक कथ्थक नृत्यांगना र ‘क्रिएटिभ आर्टिस्ट’ हुन् ।

  • ओजल राजमाझी (प्रतियोगी नम्बर २३): ओजल राजमाझीले काठमाडौंबाट प्रतिनिधित्व गर्दैछिन् ।

  • प्रियांका थापा (प्रतियोगी नम्बर २६): ललितपुरकी २५ वर्षीया प्रियांका थापा पेसाले लेखापाल हुन् ।

  • साइच्छा थापा (प्रतियोगी नम्बर १८): विराटनगरबाट प्रतिनिधित्व गर्दैछिन् २६ वर्षीया साइच्छा थापा । पेसाले व्यवसायी साइच्छा महिला सशक्तिकरणको मुद्दामा विशेष रुचि राख्छिन् ।

  • समृद्धि केसी: ललितपुरकी २५ वर्षीया समृद्धि केसीले आफूलाई सामाजिक सेवामा समर्पित गरेकी छिन् । उनी हाल मानसिक स्वास्थ्यको क्षेत्रमा पनि सक्रिय छिन् ।

  • सान्वी मण्डल (प्रतियोगी नम्बर १): जनकपुरबाट सहभागी २२ वर्षीया सान्वी मण्डलले प्रतियोगी नम्बर १ रोजिन् । उनले व्यवस्थापनमा स्नातक गरेकी छिन् ।

  • श्रियानी श्रेष्ठ (प्रतियोगी नम्बर २१): काठमाडौंकी २२ वर्षीया श्रीयानी श्रेष्ठले प्रतियोगी नम्बर २१ छानिन् । उनले सिड्नीबाट स्नातक गरेकी छिन् ।

  • सृष्टी तामाङ (प्रतियोगी नम्बर १४): काठमाडौंबाट प्रतिनिधित्व गर्ने सृष्टी तामाङ साउन्ड इन्जिनियर पनि हुन् । उनी सोसल वर्क र मनोविज्ञान अध्ययनरत छिन् ।

  • स्रुती महर्जन (प्रतियोगी नम्बर ४): ललितपुरबाट सहभागी २३ वर्षीया स्रुती महर्जनले मिडिया स्टडीजमा स्नातक गरेकी छिन् र डिजिटल मिडियाको क्षेत्रमा कार्यरत छिन् ।

  • स्मृति श्रेष्ठ (प्रतियोगी नम्बर २२): रामेछापकी २३ वर्षीया स्मृति श्रेष्ठले प्रतियोगी नम्बर २२ रोजिन् ।

  • सोनी घले (प्रतियोगी नम्बर २०): एक ‘बडी बिल्डर’ विजेता समेत रहेकी २५ वर्षीया सोनी घले ले पनि यस वर्ष मिस नेपालमा सहभागिता जनाएकी छिन् । उनी मिस नेपालको मञ्चमार्फत परम्परागत सोचलाई चुनौती दिँदै महिलाहरूलाई प्रेरणा दिन चाहन्छिन् । उनले अस्ट्रेलियाबाट ‘इन्फर्मेसन टेक्नोलोजी’मा स्नातक गरेकी छिन् ।

  • स्वाति पञ्जियार (प्रतियोगी नम्बर १९): जनकपुरकी २२ वर्षीया स्वाति पञ्जियारले पनि यस प्रतियोगितामा सहभागिता जनाएकी छिन् । साइकोलोजी अनर्समा स्नातक गरेकी उनी मानसिक स्वास्थ्यको क्षेत्रमा सक्रिय छिन् ।

विभिन्न क्षेत्रका अनुभवी तथा प्रतिभाशाली महिलाहरूको सहभागिताले यस वर्षको ‘मिस नेपाल’ प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ ।