१४ वर्षदेखि कमला पुल अलपत्र : जनतालाई सास्ती, ठेकेदार कालोसूचीमा
सिरहा, २६ साउन । सिरहा र धनुषालाई जोड्ने कमला नदीमाथिको पक्की पुल १४ वर्षदेखि अलपत्र पर्दा स्थानीय नागरिकले प्रत्येक वर्ष सास्ती खेप्दै आएका छन्। वि.सं. २०६८ मा सुरु भई तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ४६९ मिटर लामो यो पुल अझै नबन्दा हजारौँ मानिस जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
वर्षायाममा नदीमा पानीको बहाव बढेपछि स्थानीयले बाँस वा काठको अस्थायी पुलको भर पर्नुपर्छ। केही हप्ताअघि आएको बाढीले बाँसको पुल बगाएपछि आवतजावत नै ठप्प भएको थियो। हाल पुनः काठको अस्थायी संरचना बनाइएको छ, तर त्यो अत्यन्तै जोखिमपूर्ण रहेको स्थानीय बताउँछन्।
सिरहा–६ का स्थानीय प्रवीण यादव भन्छन्, “यो पुल नबन्दा हामीले वर्षौंदेखि दुःख पाइरहेका छौँ। अहिलेको काठे पुलमा मोटरसाइकल लिएर हिँड्दा ज्यानकै बाजी थाप्नुपर्छ, तर अर्को विकल्प छैन।” उनले पुल तर्न मनपरी शुल्क असुल भइरहेको गुनासो गरे। “नगरपालिकाले निःशुल्क भने पनि ५० रुपैयाँसम्म तिर्नुपरेको छ। एकातिर जोखिम, अर्कोतिर महँगो शुल्कले हामी दोहोरो मारमा परेका छौँ,” उनले भने।
पुल निर्माणको जिम्मा सुरुमा पप्पु–लुम्बिनी जेभीले पाएको थियो। पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि लुम्बिनी बिल्डर्सले काम अघि बढाएको थियो। तर, हालै आएको बाढीले पुलका दुईवटा पिलर (पाया) भासिएपछि निर्माण कम्पनीले काम रोकेको छ। कम्पनीले मर्मतका लागि चाहिने आठ करोडको बिमा रकम नपाएकाले काम रोकेको दाबी गरेको छ।
यसैबीच, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। सूचना अधिकारी इन्जिनियर रञ्जितकुमार रायका अनुसार तोकिएको समयमा काम सुचारु नगरेकाले लुम्बिनी बिल्डर्ससँगको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको हो।
पुल नबन्दा बाढीको समयमा स्थानीयहरू डुङ्गा वा बाँसको भर्याङ प्रयोग गरी नदी वारपार गर्न बाध्य हुने गरेको सिरहा–६ का वडाध्यक्ष इन्द्रजित यादव बताउँछन्। यो अधुरो पुलका कारण हरेक वर्षायाम सिरहा र धनुषाका बासिन्दाका लागि अभिशाप बन्ने गरेको छ।