फेसबुकको आकर्षक विज्ञापनले लाखौँ ठगी, ‘नेप्से एआई’ एपबाट होसियार!
काठमाडौँ, २८ साउन । सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको पछि लाग्दा ठूलो आर्थिक क्षति हुन सक्ने देखिएको छ । नेपाल प्रहरीले ‘नेप्से एआई’ नामक एक नक्कली एपमार्फत लाखौँ रुपैयाँ ठगी भएको घटना सार्वजनिक गर्दै सर्वसाधारणलाई सचेत गराएको छ ।
प्रहरीको साइबर ब्यूरोका अनुसार, फेसबुक, टिकटक जस्ता सञ्जालमा ‘शेयर बजारबाट छोटो समयमै धेरै नाफा कमाउन सकिने’ जस्ता भ्रामक विज्ञापन देखाइन्छ । उक्त विज्ञापनमा दिइएको लिङ्कबाट ‘नेप्से एआई’ नामक एप डाउनलोड गर्न लगाइन्छ । एप इन्स्टल भएपछि ह्याकरले ‘रिमोट सेसन’ मार्फत प्रयोगकर्ताको मोबाइल आफ्नो नियन्त्रणमा लिन्छ र बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र सारेर प्रमाणसमेत नष्ट गरिदिने गरेको पाइएको छ ।
ब्यूरोले एक पीडितको उदाहरण दिँदै भनेको छ, “एक व्यक्तिले फेसबुकमा विज्ञापन देखेर उक्त एप डाउनलोड गर्दा उनको मोबाइल केहीबेर बन्द भयो । त्यही बीचमा उनको विभिन्न बैंक खाताबाट रु. २८ लाख ६१ हजार चोरी भयो र मोबाइलमा भएका सबै डाटाहरू पनि मेटिए ।”
प्रहरीले यस्ता घटना बढ्दै गएको र ठगीको यो नयाँ शैली भएको बताएको छ । सामाजिक सञ्जालमा आउने कुनै पनि अपरिचित र भ्रामक लिङ्क वा एपहरू डाउनलोड नगर्न प्रहरीले सर्वसाधारणमा आग्रह गरेको छ ।
साइबर ठगीबाट बच्न प्रहरीका सुझावहरू:
अपरिचित लिङ्क वा एपहरू नखोल्ने/डाउनलोड नगर्ने ।
सामाजिक सञ्जालमा दुई-चरण प्रमाणीकरण (Two-Factor Authentication) प्रयोग गर्ने ।
पासवर्डहरू बलियो बनाउने र समय-समयमा परिवर्तन गर्ने ।
आधिकारिक एप स्टोर (Google Play Store, Apple App Store) बाट मात्र एप इन्स्टल गर्ने ।
कुनै शंकास्पद गतिविधि भएमा वा ठगीमा परेमा तुरुन्तै आफ्नो बैंक र नजिकको प्रहरी कार्यालयमा खबर गर्ने ।