सुनसरीकाे दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा ठेकेदार र कामदार मृत फेला

सुनसरी, २८ साउन । सुनसरीको दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र एक ठेकेदार र एक कामदार मृत अवस्थामा फेला परेका छन्,

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार मृतकहरू दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई हुन् । तामाङले उक्त घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदारका रूपमा कार्यरत थिए ।

प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, दुहबी नगरपालिका–४ स्थित शिव मन्दिर चोकमा रहेको चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा आज बिहान करिब १० बजे दुई जनालाई मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्काल इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेको थियो ।

मृत्युको कारण खुल्न नसकेकाले घटना थप रहस्यमय बनेको छ । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धान र फरेन्सिक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा बोलाइएको छ । प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको र फरेन्सिक रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने जनाएको छ ।