झापा जग्गा घोटालामा माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर, दुई मुद्दामा कैद र जरिवाना

काठमाडौँ, २८ साउन । विशेष अदालतले झापाको दमकस्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने चर्चित घोटाला प्रकरणमा नेकपा (माओवादी केन्द्र) का नेता गगन पुरी (रेवतीराज पुरी) लाई भ्रष्टाचारी ठहर गरेको छ ।

बुधबार न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पुरीसहित मालपोत तथा नापीका कर्मचारीहरूलाई दुई छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका दुई मुद्दामध्ये एउटामा ९ जना र अर्कोमा १० जना दोषी ठहर भएका छन् ।

अदालतले नेता पुरीलाई दुवै मुद्दामा दोषी ठहर गरेको छ । उनलाई पहिलो मुद्दामा एक वर्ष कैद र २० लाख ८३ हजार ६७१ रुपैयाँ जरिवाना सुनाइएको छ । त्यस्तै, दोस्रो मुद्दामा पनि एक वर्ष कैद र ३१ लाख ५२ हजार ५५९ रुपैयाँ जरिवाना गरी ५२ लाख जरिवाना तोकिएको छ ।

अदालतले घोटालामा संलग्न नापी तथा मालपोतका कर्मचारीहरूलाई पनि दोषी ठहर गरेको छ:
सीताराम यादव: दुवै मुद्दामा गरी कुल २ वर्ष कैद र ४३ लाख ७५ हजार २ सय ४२ रुपैयाँ जरिवाना ।
विन्देश्वर पंजियार: दुवै मुद्दामा गरी कुल २ वर्ष कैद र ४९ लाख १८ हजार ८२ रुपैयाँ जरिवाना ।
गणेशकुमार धिमाल: पहिलो मुद्दामा १ वर्ष कैद र ९ लाख ८३ हजार ८१२, दोस्रोमा ६ महिना कैद र ६ लाख ३२ हजार ३२६ रुपैयाँ जरिवाना ।

अन्य कर्मचारीहरू: रामदेव मण्डल धानुक, रुद्रप्रसाद श्रेष्ठ, विनोद कुमार, ललितकुमार मण्डल, रामकुमार दास, जगदिशप्रसाद यादव, मिनबहादुर प्रधान, विष्णुदेव यादव र विष्णुकुमार न्यौपानेलाई पनि कसुरअनुसार ३ महिनादेखि ६ महिनासम्म कैद र जरिवाना तोकिएको छ ।

वि.सं. २०२१ सालको नापीअनुसार सरकारी कायम भएको दमक-६ को कित्ता नं. ७६०/१, ७६१ लगायतका जग्गाहरू व्यक्तिका नाममा दर्ता गरिएको थियो । अख्तियारले अनुसन्धान गरी पुरीसहित १७२ र १८७ जनालाई प्रतिवादी बनाएर दुईवटा मुद्दा दायर गरेको थियो ।

अदालतले घोटाला गरी व्यक्तिका नाममा सारिएका सम्पूर्ण जग्गाहरू जफत गरी पुनः सरकारको नाममा कायम गर्न आदेश दिएको छ । फैसलामा तत्कालीन प्रमुख नापी अधिकृत शशीकान्त झालाई पनि दोषी ठहर गरिए पनि उनको मृत्यु भइसकेकाले सजाय मिनाहा भएको उल्लेख छ ।