एमाले विधान महाधिवेशनको तयारीमा, सुझाव संकलन तीव्र

काठमाडौँ, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो दोस्रो विधान महाधिवेशनको तयारीलाई तीव्र पारेको छ ।
महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन पार्टीले देशभर सुझाव संकलन अभियान चलाइरहेको छ । यसका लागि प्रदेश, जिल्ला तथा गैर-भौगोलिक कमिटीहरूमा बैठक र छलफल आयोजना भइरहेका छन् ।
यही क्रममा, पार्टी सम्बद्ध मानव अधिकार एलाइन्सले काठमाडौँमा एक कार्यशाला आयोजना गरी विधान संशोधन प्रस्तावमाथि गहन विमर्श गरेको छ । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र केन्द्रीय सदस्य एवं एलाइन्सका इञ्चार्ज विष्णु रिजालले प्रस्तावको औचित्यबारे प्रकाश पार्दै थप सुझावका लागि सहभागीहरूलाई आग्रह गर्नुभयो ।
कार्यशालालाई सम्बोधन गर्दै नेता ढकालले विधानलाई लिएर पार्टीभित्र विवाद सिर्जना गर्ने प्रयासलाई समाधान गरिएको बताउनुभयो । उहाँले पार्टीभित्र विग्रह ल्याउने कुनै पनि प्रयास सफल नहुने र एमाले थप एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, केन्द्रीय सदस्य रिजालले पार्टीलाई अहिले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेतृत्वका लागि उमेर हदलाई निरपेक्ष सिद्धान्त मान्न नसकिने तर्क गर्दै नेपाली कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले समेत नेतृत्वलाई निरन्तरता दिएको अवस्थामा अध्यक्ष ओलीको विकल्प खोज्नु सान्दर्भिक नहुने धारणा राख्नुभयो ।
पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा मस्यौदा गरिएको विधान संशोधन प्रस्ताव यसअघि नै पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पारित भइसकेको छ । एलाइन्सका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा भएको कार्यशालामा समूहगत छलफलमार्फत सुझावहरू संकलन गरिएको थियो ।
एमालेले आफ्नो दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गर्दैछ ।