एमाले विधान महाधिवेशनको तयारी तीव्र, २,३९२ जना सहभागी हुने

काठमाडौं, १ भदौ । नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म आयोजना हुने दोस्रो विधान महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनमा कुल २,३९२ जना सहभागी हुने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार, महाधिवेशनमा २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्। २०७८ सालमा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू नै विधान महाधिवेशनका लागि स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको छ। सहभागीहरूलाई डिजिटल परिचयपत्रको व्यवस्था गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

महाधिवेशनलाई व्यवस्थित र भव्य बनाउन विभिन्न तयारीहरू अघि बढाइएको छ। सातदोबाटोदेखि गोदावरीस्थित महाधिवेशन स्थलसम्म स्वागतद्वार निर्माण गरिनेछ भने व्यवस्थापनका लागि युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनबाट ३०० स्वयंसेवक परिचालन गरिनेछ।

आवास र यातायात: सहभागी प्रतिनिधिहरूबाट कुनै शुल्क नलिइने तर आवासको व्यवस्था भने उनीहरू आफैँले गर्नुपर्नेछ। सातदोबाटोबाट कार्यक्रम स्थलसम्म पुग्नका लागि पार्टीका विभिन्न कमिटीले यातायातको प्रबन्ध मिलाउनेछन्।

मिडिया व्यवस्थापन: सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा सहजीकरण गर्न व्यवस्थित न्युज डेस्क र रिपोर्टिङका लागि पासको व्यवस्था गरिनेछ।

स्वास्थ्य सेवा: महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सकसहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिनेछ।

प्रचार-प्रसार: महाधिवेशनको मूल नारा तय गरी छिट्टै प्रचारलाई व्यापक बनाइनेछ। यसका लागि फ्लेक्स, भिडियो सामग्री र सामाजिक सञ्जालको प्रयोग गरिनेछ।

महाधिवेशनमा तीनवटा महत्त्वपूर्ण प्रतिवेदन पेस हुनेछन्। अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। प्रतिवेदनलाई अन्तिम रूप दिन पार्टीका मातहतका कमिटीहरूलाई भदौ १० गतेसम्म विधानका विषयमा सुझाव पठाउन भनिएको छ।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले महाधिवेशन पार्टीलाई एकताबद्ध बनाउँदै नीति र विधि तय गर्ने उत्सव भएकोले सबैलाई गम्भीरताका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो।