बैतडीमा स्वास्थ्यकर्मी झुण्डिएको अवस्थामा मृत फेला
बैतडी, २ भदौ । बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित एक स्वास्थ्य चौकीमा कार्यरत अनमी आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयका अनुसार, विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया भागरथी विष्ट आइतबार राति करिब ८ बजे आफू बस्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
पुर्चौंडी–१०, चौमाला घर भएकी विष्टको गत वैशाखमा मात्रै विवाह भएको र उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको खुलेको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।