पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुहरू बीच बाटोमै अलपत्र

गुल्मी, ६ भदौ। गुल्मीको राक्सेमा पहिरो खसेपछि राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङबाट पाल्पा र बुटवलतर्फ जाने तथा आउने दर्जनौं सवारी साधन र यात्रुहरू बीच बाटोमा नै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, पहिरो गएको सूचना पाउनासाथ नजिकैको पुर्तिघाट प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ।
“बाटो खुलाउनका लागि डोजरलगायतका उपकरण प्रयोग गरी पहिरो पन्छाउने काम सुरु भइसकेको छ,” सूचना अधिकारी सारुले भन्नुभयो, “तर पहिरो ठूलो भएकाले सडक सञ्चालनमा आउन केही समय लाग्न सक्छ।”

सडक बन्द भएपछि विशेषगरी रिडी हुँदै यात्रा गर्ने सवारी साधनहरू प्रभावित भएका छन्। प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न वा बाटो नखुलेसम्म धैर्य गर्न यात्रुहरूलाई आग्रह गरेको छ।