इजरायली आक्रमणको संघारमा गाजा शहर: कुनै बेलाको जीवन्त महानगर अब भग्नावशेष र अराजकताको केन्द्र

 

गाजा , काठमाडौँ, ८ भदौ। दुई वर्षअघिसम्म जीवनले भरिपूर्ण गाजाको सबैभन्दा ठूलो शहर आज भग्नावशेष र कानुनविहीनताको पर्याय बनेको छ। कुनै बेला यहाँका कक्षाकोठाहरू विद्यार्थीले खचाखच हुन्थे, बजारहरूमा किनमेल गर्नेहरूको भीड लाग्थ्यो र समुद्री किनारका क्याफेहरूले इजरायली नाकाबन्दीको तनावबाट राहत दिन्थे। तर, आज यो ऐतिहासिक शहर एक आसन्न इजरायली सैन्य आक्रमणको त्रासमा बाँचिरहेको छ।

हजारौं वर्ष पुरानो इतिहास बोकेको गाजा शहरलाई विभिन्न प्राचीन सभ्यताहरूले आफ्नो आकार दिए। सन् १९४८ मा इजरायल स्थापना हुँदा विस्थापित भएका प्यालेस्टाइनीहरूका लागि यो एक प्रमुख आश्रयस्थल बनेको थियो। यही ऐतिहासिक महत्त्वका कारण सन् २००७ मा गाजा पट्टीमा नियन्त्रण कायम गरेपछि इस्लामिक कट्टरपन्थी समूह हमासले यसैलाई आफ्नो वास्तविक राजधानी बनाएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले युद्धका कारण पत्रकारहरूलाई प्रवेश निषेध गरिएको गाजा शहरका बासिन्दाहरूसँगको कुराकानी र सैन्य विश्लेषणका आधारमा त्यहाँको भयावह अवस्थाको चित्रण गरेको छ।

विगतको जीवन्तता, वर्तमानको नारकीय अवस्था

वर्षौंको द्वन्द्व, इजरायल र इजिप्टद्वारा लगाइएको कठोर नाकाबन्दी र हमासको तानाशाही शासनले प्यालेस्टाइनीहरूको जीवन कठिन बनाएको थियो। तर, कतारजस्ता क्षेत्रीय सरकारहरूको सहयोग र संयुक्त राष्ट्रसंघको बलियो सहायता प्रणालीले यहाँका थकित नागरिकलाई केही हदसम्म संरचना दिएको थियो। भूमिगत सुरुङहरूमार्फत हुने तस्करीले बाहिरी संसारसँग थोरै भए पनि सम्पर्क जोडेको थियो। आधा जनसंख्या बेरोजगार र हमास प्रहरीको कडा निगरानीका बाबजुद पनि मानिसहरू योगा स्टुडियो जाने बाटोमा ‘माचा लाटे’ पिउन वा पार्कमा बसेर आराम गर्न सक्थे।

तर आज, कुनै बेला गाजाको सांस्कृतिक र आर्थिक केन्द्र रहेको यो शहर भग्नावशेषमा परिणत भएको छ। लगभग दुई वर्षअघि हमासले इजरायलमा गरेको घातक हमलापछि सुरु भएको इजरायली सेनाको महिनौँ लामो क्रूर आक्रमणले शहरलाई ध्वस्त बनाएको छ। भूमिगत सुरुङहरूमा लुकेर बसेका हमास लडाकुहरूलाई निमिट्यान्न पार्ने उद्देश्यले इजरायलले नयाँ सैन्य कारबाहीको तयारी गरिरहँदा यहाँका नागरिकहरू फेरि एकपटक आफ्नो अस्तित्वको लडाइँ लड्न विवश छन्।

अराजकता र बाँच्नका लागि संघर्ष

हमासको आक्रमणपछि इजरायलको बर्बर जवाफी कारबाहीसँगै गाजा शहरमा सामान्य जीवन पूर्ण रूपमा ध्वस्त भयो। हमासको प्रहरी संयन्त्र भत्किएपछि शहरका भत्किएका भवनहरूमा आश्रय लिइरहेका लाखौं मानिसहरू आफ्नो सुरक्षा आफैं गर्न बाध्य छन्।

इजरायली सेनाको हजारौं हवाई हमलाले शहरका अग्ला भवनहरूलाई भग्नावशेषमा परिणत गरेको छ भने सडकहरू फोहोर र ढलको पानीले भरिएका छन्। बासिन्दाहरूले इन्धनका लागि प्लाष्टिक र दाउरा बाल्दा निस्कने कालो धुवाँले आकाश ढाकेको छ। इजरायली ड्रोनको आवाज र बेलाबेलामा हुने हवाई हमलाको विस्फोटले वातावरण त्रसित छ।

सडकमा राखिएका जेनेरेटरबाट तानिएका तारहरूको भद्रगोल जालोले पैसा तिर्न सक्नेहरूलाई मात्र बिजुली आपूर्ति गर्छ। बजारहरूमा आपराधिक समूहहरूले सहायता बोकेका ट्रकबाट लुटेका हुनसक्ने थोरै खाद्य सामग्री आकाशिएको मूल्यमा बेचिन्छन्। अस्पताल र औषधि पसलहरू बन्द छन्। सरसफाइका सामग्रीको अभाव, पौष्टिक खानाको कमी र जुम्राको प्रकोपले मानिसहरू बिरामी र कमजोर भएका छन्।

रात परेपछि हतियारधारी अपराधीहरू सडकमा घुम्छन् र परिवारहरू आफ्नो सुरक्षाका लागि बन्दुक बोक्न थालेका छन्। अनौपचारिक बैंकिङ प्रणालीमार्फत गाजामा पैसा पठाउन सकिन्छ, तर पैसा झिक्न खोज्नेहरूले रकम नियन्त्रण गर्ने समूहलाई ५० प्रतिशतसम्म कमिसन तिर्नुपर्छ।

हमासको अनुपस्थिति र रहस्यमय पुनरागमन

कुनै बेला गाजाका सडकमा खुलेआम देखिने हमास अहिले पूर्ण रूपमा अनुपस्थित छ। उसका राजनीतिक कार्यालय, नगरपालिका र प्रहरी चौकीहरू ध्वस्त भएका छन् र लडाकुहरू भूमिगत छन्।

“ती बदमासहरूको अब कुनै नियन्त्रण छैन… तर कहिलेकाहीँ उनीहरू अचानक देखा पर्छन्, कहाँबाट आउँछन् पत्तै हुँदैन,” हमासका विरोधी एक स्थानीय बासिन्दा अबु मोहम्मदले आफ्नो पूरा नाम नबताउने शर्तमा भने। उनका अनुसार हमासका लडाकुहरू कसरी संगठित हुन्छन् भन्नेबारे सर्वसाधारणलाई कुनै जानकारी छैन।

यद्यपि, हमास पूर्ण रूपमा समाप्त भइसकेको छैन। गत जनवरीमा युद्धविराम र केही बन्धकहरूको रिहाइको सम्झौता हुँदा हमासका हतियारधारी सदस्यहरू पूर्ण सैन्य पोशाकमा गाजा शहरको एक सार्वजनिक चोकमा देखा परेका थिए। यो इजरायललाई दिइएको एउटा सन्देश थियो— ‘हामी अझै जीवित छौं।’

हालै सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा ‘अल रदे’आ’ (अर्थात् ‘द डिटरिंग’) नामक एक समूहले हमासको सशस्त्र शाखाको समर्थनमा नारा लगाउँदै स्वचालित हतियार प्रदर्शन गरेको थियो। उक्त समूहले सहायता सामग्री चोर्ने “चोर र व्यापारीहरूलाई” धम्की दिएको थियो।

सैन्य विश्लेषकको दृष्टिकोण

अन्तर्राष्ट्रिय थिंक ट्याङ्क ‘एटलान्टिक काउन्सिल’का वरिष्ठ फेलो तथा सैन्य विशेषज्ञ एलेक्स प्लिटसासका अनुसार हमास कुनै स्थिर संस्था होइन। “अक्टोबर ७ मा उनीहरूसँग निश्चित संख्यामा लडाकुहरू थिए, तर गाजामा भएको विनाश र मृत्युपछि उनीहरूले नयाँ भर्ती अभियान चलाएर क्षतिपूर्ति गरेका छन्,” उनले सीएनएनलाई भने। उनका अनुसार हमास एक परम्परागत सेनाजस्तो नभई, निर्वाचित सरकारका लागि लड्ने विद्रोही शक्तिजस्तो हो, जसले युद्धका नियमहरू मान्दैन।

इजरायलको नयाँ सैन्य कारबाही र चुनौतीहरू

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा शहरलाई हमासको अन्तिम गढहरू मध्ये एक मानेका छन्। यस शहरमा कब्जा गर्न इजरायली सेनाले ६०,००० अतिरिक्त रिजर्भ सैनिक बोलाउने र २०,००० को सेवा अवधि थप्ने योजना बनाएको छ।

एक इजरायली स्रोतका अनुसार सेनाले आक्रमण सुरु गर्नुअघि प्यालेस्टाइनीहरूलाई बाहिर निस्कन करिब दुई महिनाको समय दिनेछ र अक्टोबर ७ अर्थात् युद्धको दुई वर्षे वार्षिकीलाई सांकेतिक समयसीमा तोक्नेछ।

एक इजरायली सैन्य अधिकारीले गाजा शहरमा कति हमास लडाकु छन् भन्ने यकिन तथ्यांक नभएको तर उनीहरूले तयारीका लागि पर्याप्त समय पाएको बताए। “उनीहरूलाई थाहा छ हामी आउँदैछौं, त्यसैले उनीहरूले तयारी गरिरहेका छन्,” अधिकारीले भने।

इजरायलले ‘हमास मेट्रो’ भन्ने गरेको भूमिगत सुरुङ सञ्जाल अनुमान गरिएभन्दा धेरै जटिल छ। यसमा ठूला रणनीतिक केन्द्रहरूदेखि छिटो आवतजावत र अचानक आक्रमणका लागि बनाइएका साना सुरुङहरू छन्।

गाजा शहर खाली भएपछि इजरायली सेनाले घना सहरी क्षेत्रमा पहिले आक्रमण नगरिएका स्थानहरूमा समेत निशाना बनाउनेछ। तर, विगत दुई वर्षमा ठूलो संख्यामा नागरिक हताहती, युद्ध अपराधको आरोप र सहायतामा अवरोधजस्ता कारणले इजरायलको यो योजनाप्रति अन्तर्राष्ट्रिय सरकार र सहायता समूहहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्।

विश्लेषक प्लिटसास भन्छन्, “इजरायली सेनाले प्रत्येक भवनमा पसेर सफा गर्न र सबै सुरुङहरू नष्ट गर्न केही महिना लगाउन सक्छ। के यो सम्भव छ? छ। तर के यो अत्यन्तै कठिन र धेरै सैनिक चाहिने काम हो? त्यो पनि हो।”(सिएनएन)