रुसमा रेल दुर्घटना : एक जनाको मृत्यु

काठमाडौँ, भदौ २९ । रुसको पश्चिमी लेनिनग्राद क्षेत्रमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक रेल चालकको मृत्यु हुनुका साथै रेल यातायात अवरुद्ध भएको उक्त क्षेत्रका गभर्नरले बताएका छन् । रेल कसैको आक्रमणपछि दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको र अनुसन्धान पनि अघि बढाइएको कतिपय रूसी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रुसको पश्चिमी ओरियोल क्षेत्रमा शनिबार राति भएको विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको केही घण्टापछि यो रेल दुर्घटना भएको हो ।गभर्नर अलेक्जेन्डर ड्रोज्डेन्कोले टेलिग्राममा भन्नुभएको छ, “लेनिनग्रादको गाचिना जिल्लाको सेमरिनो स्टेशन नजिकै एउटा डिजेलबाट चल्ने रेल दुर्घटना भएपछि रिकभरीको प्रयास जारी छ ।”

रेल चालकको मृत्यु भएको ड्रोज्डेन्कोले पुष्टि गर्नुभयो । उहाँले भन्नुभयो, “रेल चालक रेलको क्याबिनमा घाइते अवस्थामा फसेका थिए, उद्धार गरी उपचारका लागि अस्पताल लाने क्रममा उनको निधन भएको हो ।”

सामाजिक सञ्जालमा पोस्ट गरिएको एक अपुष्ट भिडियोमा एउटा रेलको डिब्बा ट्र्याकबाट केही मिटर टाढा रहेको देखिएको छ । “अन्वेषकहरूले सम्भावित तोडफोड भएको सम्बन्धमा अनुसन्धान गरिरहेका छन्,” उहाँले थप्नुभयो ।