एमाले विधान महाधिवेशनलाई प्रेस चौतारीको सुझाव: प्रेस स्वतन्त्रतादेखि नेतृत्वको उमेर हदसम्मका विषय समावेश
काठमाडौँ, १२ भदौ । नेकपा (एमाले) को आसन्न दोस्रो विधान महाधिवेशनका लागि प्रेस चौतारी नेपालले महत्त्वपूर्ण सुझावहरू पेस गरेको छ। चौतारीका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेललाई सुझाव पत्र हस्तान्तरण गरेको हो।
चौतारीले पार्टीको विधान र राजनीतिक प्रतिवेदनमा समेटिनुपर्ने विभिन्न विषय उठाएको छ। जसमा पार्टी विधानको प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुनिश्चित गर्नुपर्ने, पार्टी नेतृत्वको कार्यकाल र उमेर हदबारे पुनर्विचार गर्नुपर्ने, तथा केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवा प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने जस्ता मुख्य मागहरू छन्।
यसैगरी, पार्टी सदस्यताको संरचना परिवर्तन, जनसंगठनमा आबद्ध भएको एक वर्षभित्र पार्टी सदस्यता अनिवार्य गरिनुपर्ने, र राजनीतिक नियुक्ति गर्दा सम्बन्धित संगठनको सिफारिसलाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिइएको छ।
एमालेले आफ्नो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना गर्दैछ। सोही महाधिवेशनका लागि पार्टीले मातहतका कमिटी र जनसंगठनहरूबाट सुझाव संकलन गरिरहेको छ।