प्रधानमन्त्री ओलीले भन्नुभयाे: म जति पनि हेपिन तयार छु तर देशलाई हेपेको सहन्नँ

ललितपुर, २२ भदाै । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जतिसुकै हेपिए पनि देशलाई हेपेको सहन नसक्ने बताउनुभएकाे छ ।

दोस्रो विधान महाधिवेशनको अन्तिम दिन अध्यक्ष ओलीले आइतबार कार्यकर्तालाई सम्बोधन
गर्नुहुँदै राष्ट्रियताप्रतिको अडानलाई पुनः दोहोर्‍याउनुभएकाे हाे ।

‘मलाई जति सुकै हेपियोस् म हेपिन तयार छु र सहन्छु । तर देशलाई हेपेको सहन्नँ । देशलाई हेप्न, होच्याउन पाइँदैन । हाम्रो स्वाभिमान माथि ठेस पुर्‍याउन पाइँदैन’, प्रधानमन्त्री ओलीले भन्नुभयाे ।

समसामयिक विषयमा प्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालबारे भने, ‘हामी वाक स्वतन्त्राताका लागि बलिदान दिएर आएका हौं । त्यसैले हाम्रो पार्टी सामाजिक सञ्जालमाथि असहिष्णु भए छ कि ? भन्ने कसैमा भ्रम नपरोस् । सामाजिक सञ्जाललाई कानून बमोजिम चल्न, दर्ता हुन र कर तिर्न एक वर्षदेखि भन्दै आएका हौं । तर अटेरी गरिरहेका छन् ।’

सामाजिक सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरूले सरकारद्वारा वाक स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेको बताउनुहुँदै उहाँले आश्चार्य जनाउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहेको छ । कानूनको दायरामा आउन भन्दा नआएछि सञ्चालनमा रोक लगाइएको हो । तर, विरोध गर्ने केही बुद्धिजीवीहरूले वाक स्वतन्त्रताको अर्थ बुझेका छैनन्’ ।

कतिपयले ‘जेनजी पुस्ता’लाई सामाजिक सञ्जाल बन्दको विरुद्ध विद्रोह गराउने भनिए पनि ‘जेनजी पुस्ता’ हेपाहा प्रवृत्तिको विरुद्धमा रहेको उहाँले बताउनुभयाे ।