बालकोटमा ओली निवास लुटपाट र आगजनीकाे अगुवाइमा दाेलखाका कांग्रेस नेता
काठमाडौं, ३१ भदाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवास आगजनी र तोडफोडकाे अगुवाइ गर्ने नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उसभापति सुवास लामा रहेको खुलेको छ ।
अग्रभागमा बसेर मुखमा औंलो राखेर सिठ्ठी बजाउँदै भिडलाइ उक्साइरहेको रातो क्याप लगाएका लामा भिडिओमा देखिन्छ ।
नेकपा एमाले बैतेश्वर गाउँपालिका कमिटीले फेसबुक पेजमा भोलिपल्टै उनको फोटो र भिडिओ हाल्दै तत्कालीन सत्ता साझेदार दलकै नेता संलग्न रहनु दुःखद भएकाे उल्लेख गरिएकाे थियाे ।
बैतेश्वर गाउँपालिका-१ निवासी लामा कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय उपसभापति रहेको पार्टीले स्वीकार गरेको छ । उनी गुण्डागर्दी र गलत क्रियाकलापमा पहिलेदेखि नै संलग्न रहने गरेकाले पार्टीको बदनाम भएको जिल्लाका एक नेताले बताए । २०७४ र २०७९ का दुवै चुनावमा बुथ कब्जा गरेर पालिका अध्यक्ष जितेका छवि लामाका भतिजा सुवास नै बुथ कब्जाका मतियार थिए ।
लामाले त्यसदिन ओली निवासमा भिड लैजाने, उक्साउने र आगजनी गर्नेजस्ता क्रियाकलाप गरेका सबै प्रमाण संकलन भएको एमाले केन्द्रीय संगठन विभागका सचिव माधव ढुंगेलले बताए ।
दुर्गा प्रसाईँ समूहसँगै रास्वपा, माओवादी र राजावादीहरूले गरेको आगजनीमा कांग्रेसका क्षेत्रीय उपसभापति अग्रभागमा देखिनु दुःखद रहेको एमाले दोलखाले जनाएको छ । पेटी ठेक्कामा संलग्न लामा दोलखा र रामेछापका जलविद्युत आयोजनाहरूबाट रकम असुल्ने गिरोहका रुपमा चिनिन्छन् ।