अध्यक्ष ओलीको आक्रोश : हा-हुँको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? के ठानेको ?

काठमाडौं, ११ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पासपोर्ट रोक्का गर्ने अन्तरिम सरकारको तयारीबारे आपत्ति जनाउनुभएकाे छ ।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघ, नेपालको आयोजना नेपालीहरूकाे महान चाड बडादशैंकाे शुभकामनासहित खुला भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
याे सरकार सरकार संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। तोडफोड, आगजनीको माध्यमबाट बनेको बताउनुहुँदै आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला गरेकाे सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? के सोचेका छौ? हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’
उहाँले भन्नुभयाे, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गरेका छैनाैं गर्दैनाैं । हामी सबै पारदर्शी ढङ्गबाट गर्छौ।’
एमालेले सरकारको नेतृत्व गर्दा छलछाम र षडयन्त्रका कुनै पनि गतिविधि नगरेको उहाँकाे दावी छ ।
उहाँले आफूले बोलेका कुरा र गरेका कामहरू षड्यन्त्र र छलछाम भएको भए बाहिर ल्याउन पनि सरकारलाई चुनौती दिनुभयाे ।