गृहमन्त्रीले प्रतिशोध साधेको भन्दै त्यसो गरे प्रतिकार गर्ने महेश बस्नेतको चेतावनी

काठमाडौं, २२ असोज । नेकपा (एमाले)का पोलिट्व्युरो सदस्य महेश बस्नेतले भ्रष्ट्राचार, नातावाद, कृपावादका विरुद्धमा गरेको आन्दोलन हिंसात्मक भएको आरोप लगाउनुभएकाे छ ।

उहाँले आज एक पत्रकार सम्मेलन गर्दै यस्तो बताउनु भएको हो । उहाँले पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका नाममा अतिवादी गतिविधि भएको पनि आरोप लगाउनुभयो । जेनजी भन्ने उपमा दिएर त्यो पुस्ताको बदनाम गरेर घुसपैठ गरेर हजारौँ नेटवर्क चलाएर, सामाजिक सञ्जालको दुरुपयोग गरेर, कुनै देशको युथ काउन्सिलको सदस्यता लिएका र बार्बरा फाउन्डेशनका नाममा अन्तराष्ट्रिय शक्तिकाे घुसपैठ भयो ।

यो मुलुक विदेशीको क्रिडास्थल बनेको छ । जनताको सार्वभौमसत्ता हराएको, कानुनी राज्य हराएको अवस्थामा छ । जनताको हितलाई पक्षपोषण गर्न एमालेले भूमिका खेलेको छ । नेताका घर जलाउने, सिंहदरबार जलाउनेसम्मका प्रयासहरु ‘डिस्कर्ड’ चलाएर गरेको महेश बस्नेतले आरोप लगाउनुभयो ।

गृहमन्त्रालयले अहिले पनि लुटपाट गर्न प्रोत्साह गर्ने, सुदन गुरुङलाई सत्ता कब्जा गर्ने एम्बुसका रुपमा प्रयोग गरेर काठमाडौंका मेयर बालेन साहले प्रयोग गरेको पनि उहाँले आरोप लगाउनुभयो ।
२१ जनाको हत्याको सन्दर्भमा निश्पक्ष छानविन गर्न गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई आग्रह गर्दै दोषीमाथि कारबाही गर्न सुझाव दिनुभयो । तर, त्यसो भन्दै गर्दा व्यक्ति केन्द्रित र पूर्वाग्रही ढंगले छानविन नगर्न सुझाव दिनुभयो ।

उहाँले १४ हजार कैदी निकाल्ने, हतियार लुट्ने सबैलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले सुटरहरुलाई, भौतिक संरचना ध्वस्त बनाउने, प्रहरीलाई खेदाएर हत्या गर्नेलाई कारबाही गर्न पनि सुझाव दिनुभयो । तर, केटाकेटी आए गुलेली खेलाए भने जस्तै गृहमन्त्रीले सुदनलाई उचालेर नगर्ने काममा मात्रै केन्द्रित भएको उहाँले आरोप लगाउनुभयो । उहाँले कुलमान घिसिङ, रामेश्वर खनाललगायतको पनि छानविन गर्न चुनौति दिनुभयो ।

उहाँले प्रतिशोध साँध्ने काममा यो सरकार लागेको भन्दै उहाँले यस्तो नगर्न पनि चुनौति दिनुभयो । आफूलाई विभिन्न आरोप लगाएर गिरफ्तार गर्ने षडयन्त्र गरेको आरोप पनि लगाउनुभयो । पहिला तामेलीमा राखेको मुद्धालाई उचाल्ने प्रयास गरेको भन्दै उहाँले आज पनि त्यसको बयान दिएर आएको भन्दै लुकेर नबस्ने चेतावनी दिनुभयो ।

उहाँले गृहमन्त्रीले प्रतिशोध साँद्दै गरेका गलत क्रियाकलापको पनि खुलेर विरोध गर्नुभयो । उहाँले डिजिटल जनेरेशन गठन गरेर अघि बढ्ने चेतावनी पनि दिनुभयो । जिल्ला–जिल्लामा प्रहरी कार्यालय जलाउने, नेताका घर जलाउने, सरकारी भवन जलाउनेहरुका विरुद्धमा जाहेरी दिने तयारीमा रहेको पनि उहाँले खुलासा गर्नुभयो ।

उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई संसद विघटनको एजेण्डामा लागेर गलत गरेको पनि आरोप उहाँले लगाउनुभयो ।