एमालेका नेता योगेश भट्टराईले फिर्ता गरे रातो पासपोर्ट

काठमाडौं, २३ असोज । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी रातो पासपोर्ट फिर्ता गरेका छन् ।

भट्टराईका अनुसार रातो पासपोर्ट राहदानी विभागमै पुगेर फिर्ता गरेका हुन् ।

प्रतिनिधि सभा गत भदौ २७ गते विघटन भएको थियो । राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने प्रावधान छ ।

‘कूटनीतिक वा विशेष राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्ति कुनै कारणले आफ्नो पदबाट अलग भएमा आफू पदबाट अलग भएको र विदेशमा रहेको भए नेपाल फर्किएको मितिले एक महिनाभित्र आफ्नो र आफ्नो परिवारका सदस्यको नाममा जारी भएको कूटनीतिक वा विशेष राहदानी विभागमा फिर्ता गर्नु पर्नेछ’ नियम १८ को उपनियम १ मा छ ।

समयमा राहदानी फिर्ता नगरे विभागले रद्द गर्न सक्ने प्रावधान पनि छ । यससम्बन्धी व्यवस्था नियमावलीको नियम १८ को उपनियम ३ मा छ । जहाँ भनिएको छ, ‘फिर्ता भएको राहदानी फिर्ता भएपछि र सो अवधिभित्र फिर्ता नभएका कूटनीतिक वा विशेष राहदानी उपनियम १ वा २ बमोजिमको अवधि पछि विभागले रद्द गरी सोको अभिलेख राख्नेछ ।’