साताको अन्तिम दिन १८.४० अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य वृद्धि
काठमाडौं,३० असाेज। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७३ अंक, फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब १० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा, बिहीबार ३११ स्टकको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको ७६ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशतले बढेको छ। त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको १५ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको १३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्टको कारोबार ११ करोड रुपैयाँ नाघेको छ।
बिहीबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन्।